दाङ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को संकल्प पुरा गर्न एमाले लागिपर्ने बताएका छन् ।
राष्ट्रियसभा सदस्यको निर्वाचनको उम्मेदवारी गर्नुपूर्व नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्प पुरा गर्न एमाले लागिपरेको छ । मुलुकको समृद्धि र विकास नै एमालेको मुख्य मिसन हो ।’
मुलुकको समृद्धिको यात्रालाई अलमल्याउन एमालेलाई सरकार बाहिर राख्ने षड्यन्त्र सफल भएको भन्दै उनले देशी विदेशी शक्तिहरु मुलुकलाई असफल बनाउन लागिपरेको बताए । राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले पंति उत्साहित भएर लागिपरेको नेता गिरीले बताए । ‘मुलुकको समृद्धिको यात्रालाई अलमल्याउन नेकपा एमाले लाई सरकार बाहिर राख्ने षड्यन्त्रले सफलता प्राप्त गरेको छ । सरकार बाहिर भए पनि एमाले विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन लागिपरिरहेको छ’, नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेतासमेत रहेका गिरीले भने, ‘राष्ट्रियसभा सदस्यको निर्वाचनमा हामी उत्साहित भएर लागिपरेका छौं । यो निर्वाचनमा एमालेले लामो समयसम्म लागिपरेका नेतालाई उम्मेदवार बनाएको छ । हाम्रा उम्मेदवार सक्षम हुनुहुन्छ । परिणाम हाम्रो पक्षमा पर्छ भन्नेमा हामी ढुक्क छौं ।’
जनताहरु एमाले र एमालेका नीतिप्रति आकर्षित भइरहेको भन्दै नेता गिरीले नागरिकको अपेक्षा अनुसारको समृद्धि एमाले नेतृत्वमा मात्रै सम्भव हुने बताए । ‘एमालेका नीतिप्रति आम नेपाली नागरिकहरु आकर्षित हुनुहुन्छ । एमालेको नेतृत्वमा मात्रै मुलुक समृद्ध बन्छ भन्ने उहाँहरुको अपेक्षा रहेको छ’, उनले भने ‘नागरिकको अपेक्षा अनुसारको समृद्धि हाम्रो नेतृत्वमा मात्रै सम्भव छ ।’
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य नरुलाल चौधरी, शान्ता चौधरी, दधिराम सुवेदी, केन्द्रीय सदस्य चेतनारायण आचार्य, घनश्याम आचार्य, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।