पाँचौँ बाणगंगा माघी महोत्सव माघ २ गतेदेखि हुने

मेचीकाली संवाददाता

२८ पुष २०८०, शनिबार
216 shares

पार्वती आचार्य

कपिलवस्तु । पाँचौँ बाणगंगा नगरस्तरीय माघी (खिचडी) महोत्सव माघ २ गतेदेखि ४ गते सम्म हुने भएको छ । ‘हम्मन रास्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मुल नारासहित माघी महोत्सव हुन लागेको बाणगंगा नगरपालिका ११ हथौसामा शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य सुमित्रा चौधरीले बाणगंगा थारु बाहुल्यता रहेको नगर भएकोले पर्यटन प्रर्वद्धनमा थारु महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताइन् । विविधतामा एकता रहेको देशमा अझ प्रगाढ सम्बन्ध बनाउनका लागि एक अर्काको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्नेमा उनले जोड दिइन् ।

महोत्सवको बारेमा जानकारी दिदै महोत्सव संयोजक तथा थारु कल्याणकारिणी सभा नगर अध्यक्ष नाथुराम थारुले थारु जातिका कला, संस्कृति, भाषा भेषभुषा, र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए । विषेश गरि थारु कला, संस्कृति झल्किने गरि आयोजना हुन लागेको महोत्सवमा रक्तदान, डेलवा दौड प्रतियोगिता लगायतका अन्य विविध कार्यक्रम रहेने उनले जानकारी दिए ।

त्यस्तै महोत्सवको उद्घाटन प्रदेश भौतिक पुर्वाधार मन्त्री धर्म बहादुर चौधरीले गर्ने जानकारी दिए । महोत्सवमा थारु राष्ट्रिय गायक गायिकाको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने होत्सव संयोजक थारुले बताए ।

त्यस्तै थारु कल्याणकारिणी सभा केन्द्रिय पार्सद उमाशङ्कर चौधरीले विगत पाँच वर्षदेखि बाणगंगाका विभिन्न ठाउँमा महोत्सव गरेको स्मरण गर्दै अहिले हथौसामा महोत्सव गर्न लागेको र यसलाई भब्य रुपमा सफल पार्न सम्पुर्णमा आह्वान समेत गरे ।

थारु कल्याणकारिणी सभा जिल्ला सचिव सन्तराम चौधरी, नगर सभाका पदाधिकारी, महोत्सव समारोह उपसमितिका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रममा नगर सभा उपाध्यक्ष कमल चौधरीको स्वागत तथा प्रेस संयोजक सरिता थारुको सञ्चालनमा कार्यक्रम भएको थियो ।