सरकारको ध्यान सत्ता टिकाउनमै केन्द्रितः उपाध्यक्ष पौडेल

मेचीकाली संवाददाता

२९ पुष २०८०, आईतवार
130 shares

बुटवल। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएको बताएका छन् । जनताका समस्या समाधानप्रति सरकारले कुनै चासो र ध्यान नदिएको बताउँदै पौडेलले सरकार सत्ता र शक्ति बचाउनमा मात्र सरकार लागिपरेको बताए ।

शनिबार बुटवलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको २१ औँ साधारणसभा तथा १० औँ अधिवेसनको उद्घाटन गर्दै नेता पौडेलले देशका तमाम समस्या समाधान गर्न वर्तमान सरकारले नसक्ने दावी गरे । उनले भने, ‘वर्तमान सरकार, जनताका मुद्दा, चासो, समस्याका विषयमा सरकार जानकार छैन जनताका समस्या समाधान गर्न एमाले नेतृत्वको आवश्यक छ,’ पौडेलले भने । पौडेलले बढ्दो विज्ञान र प्रविधिको भरपुर उपयोग गर्दै त्यहीअनुसार नयाँ युवा पुस्ताले अनुसरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा नेता पौडेलले महासंघद्वारा नवनिर्मित राजेन्द्र स्मृति पुस्तकालय भवनको उद्घाटनसमेत गरेका थिए । समाजमा पठन संस्कृतीको विकास र विस्तार गर्न जरुरी रहेको उनले बताए । नेता पौडेलले पुस्तकालयल व्यवस्थित रुपमा सञ्चालन हुने आशा व्यक्त गरे ।
कार्यक्रममा जिल्ला अध्यक्ष रामकृष्ण चापागाईंले महासंघले आफ्नो नेतृत्वमा सम्पन्न गरेका विभिन्न कार्यक्रमहरुबारे चर्चा गर्दै कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । पुस्तकायल व्यवस्थित रुपमा सञ्चालन गर्न आफू नेतृत्वमा नरहेपनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । महासंघका केन्द्रीय महासचिव शिवसागर सुवेदीले महासंघको अगुवाइमा समयमै देशका सबै जिल्लाका विद्यार्थिहरुले समयमै पाठ्यपुस्तक पाएको बताए । राष्ट्रिय पुस्तक नीति नहुँदा महासंघ अभिभावकविहीन जस्तै भएको बताउदै यसलाई तत्काल जारी गर्न आग्रह गरे । पठन संस्कृतिको विकासका लागि विभिन्न समयमा पुस्तक प्रदर्शनीलगायतका कार्यक्रम गर्दै आइरहेको बताउँदै महासंघको अभियानमा जोडिन आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, महासंघका पूर्वकेन्द्रीय अध्यक्ष तथा वागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जन, पूर्वकेन्द्रीय अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पूर्वकेन्द्रीय अध्यक्ष नवनिधि पन्थ, पूर्वकेन्द्रीय अध्यक्ष मनोहरी बस्याल, केन्द्रीय उपाध्यक्ष दिवाकर घिमिरे, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार तिलक आचार्य, बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष नरिश्वर पौडेल, महासंघ पाल्पा जिल्ला अध्यक्ष किशोर भट्टराई, एन प्याब्सन रुपन्देहीका उपाध्यक्ष बाबुराम बञ्जाडेलगायतले आआफ्नो भनाइ राख्दै पठन संस्कृतिको विकासका लागि अभियान सञ्चालन गर्नुपर्ने बताए । नयाँनयाँ प्रविधि र टेक्नोलोजीको विकास भइरहेको अवस्थामा पुस्तकालयलाई प्रविधिमैत्री बनाउँदै रिसर्च सेन्टरको रुपमा विकास गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा महासंघले प्रकाशन गरेको वार्षिक स्मारीका विमोचन गरिएको थियो भने पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्वरुपन्देही जिल्ला अध्यक्षहरु, उत्कृष्ट व्यवसायी, विभिन्न संघसंस्थाहरुलाई गरिएको थियो । साथै जिल्लास्तरीय सिर्जनशील हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । वरिष्ठ उपाध्यक्ष गोपाल बस्यालको धन्यवाद मन्तव्य तथा जिल्ला सचिव कृष्णबहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।