खाद्य शुद्धता सम्बन्धी अभिमुखीकरण तथा उपभोक्ता सचेतना कार्यक्रम सुरू

मेचीकाली संवाददाता

८ माघ २०८०, सोमबार
306 shares

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च बुटवलको आयोजनामा सोमबारदेखि खाद्य शुद्धता सम्बन्धी पाँच दिने अभिमुखीकरण तथा उपभोक्ता सचेतना कार्यक्रम सुरू भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ देखि १९ सम्मका जनप्रतिनिधि, कार्यपालिका सदस्य, प्रहरी, विभिन्न क्षेत्र जानकार व्यक्तिहरु सहभागी कार्यक्रममा २०० भन्दा बढी सहभागी छन् ।

र्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जनताको स्वास्थ्यप्रति पालिका सधै चिन्तित रहेको बताइन । खाद्य स्वच्छताको लागि उपभोक्ता स्वयम नैं जागरुक र सचेत हुनुपर्ने बताउदै अर्यालले खाद्य वस्तुको मूल्य र मितिमा ध्यान पुग्नेपर्नेमा जोड दिइन । बजारमा धेरै अखाद्य वस्तुहरु रहेको भन्दै आफूहरुले नियमित अनुगमन गरी त्यसमा धेरै सुधार ल्याएको उनको भनाइ छ ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवल उपमहानगरपालिकाका अध्यक्ष समुन्द्र जिसीले उपभोक्तामा स्वच्छतामा जागरुकता ल्याउने आफूहरु निरन्तर लागिरहेको बताए । यस्ता सचेतनामूलक कार्यक्रमहरु आफूले निरन्तर गर्दै जाने अध्यक्ष जिसीको भनाइ छ । कार्यक्रममा उपभोक्ताको मानव अधिकारको भूमिका विषयमा अधिकारकर्मी रीमा बिसी, स्थानीय बजार अनुगमनबारे बुटवल उपमहानगरपालिकाका अधिकृत ठगिश्वर पोखरेल, खाद्य स्वच्छता सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख अनुप हलुवाई र उपभोक्ताको अधिकार सम्बन्धी अध्यक्ष समुन्द्र जिसीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य ऋषि आजाद, लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठक लगायतले बोल्दै उपभोक्ता आफ्नो स्वाथ्यप्रति सचेत रहनुपर्ने बताएका थिए । उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षता, उपाध्यक्ष भक्तबहादुर केसीको स्वागत तथा सचिव लिलाधर लुइटेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।