राष्ट्रिय सभा निर्वाचन आज, बेलुकासम्म नतिजा आइसक्ने

मेचीकाली संवाददाता

११ माघ २०८०, बिहीबार
145 shares

बुटवल । राष्ट्रिय सभा सदस्य निर्वाचन आज (बिहीबार) हुँदैछ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्यका लागि बिहीबार निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदानको समय तोकिएको छ ।
कानुनतः पदावधि सकिन ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ ।

हाल प्रदेश सभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन् । प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को व्यवस्थाबमोजिम मतपत्रमा मत संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न वा मतसङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने विषयलाई मध्यनजर गरी सम्बन्धित मतदान केन्द्रहरुमा आयोगले तोकेको कुनै एक परिचयपत्र साथ उपस्थित भई आफ्नो विवेकको गोप्य मताधिकारको प्रयोग गर्न निर्देशन गरेको छ ।

लुम्बिनीमा २ सिटका लागि ६ जना उम्मेदवार
लुम्बिनीमा दुई सिटका लागि हुने निर्वाचनमा ६ जना उम्मेदवार छन् । लुम्बिनीमा नेकपा (माओवादी केन्द्र) का नेता झक्कुप्रसाद सुवेदी (रोल्पा) र नेकपा एमालेबाट झपेन्द्र जिसी (पाल्पा) बिच मुख्य प्रतिस्पर्धा हुँदैछ । त्यस्तै महिलातर्फ नेपाली कांग्रेसबाट विष्णुकुमारी सापकोटा (गुल्मी) र एमालेबाट तुलसाकुमारी केसी (दाङ) बिच प्रतिस्पर्धा हुनेछ । यसका अलावा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की विजयलक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि उम्मेदवार छन् ।

लुम्बिनीमा निर्वाचनका लागि ८ हजार ७५३ मतभार रहेको छ । प्रदेशमा कांग्रेसको मात्र ३ हजार १७९ मत छ । लुम्बिनी प्रदेश सभामा कांग्रेसका २७ सांसद र स्थानीय तहमा ९२ जना प्रमुख÷उपप्रमुख छन् । त्यस्तै एमालेको २ हजार ८१० मतभार छ । लुम्बिनीमा एमालेका २९ प्रदेशसभा सदस्य र स्थानीय तहमा ६७ जना प्रमुख÷उपप्रमुख छन् । लुम्बिनीमा माओवादीको १ हजार ३४३ मतभार रहेको छ । माओवादीबाट ११ जना प्रदेश सभा सदस्य र ४० जना स्थानीय तहका प्रमुख÷ उपप्रमुख भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेश सभाका ४ सांसदसहित २६९ मतभार रहेको छ ।

त्यस्तै छुट्टै उम्मेदवारी दिएको जनमत पार्टीको १५९ मतभार रहेको छ । लुम्बिनीमा स्थानीय तहतर्फ जनता प्रगतिशील पार्टीको पनि ३८ मतभार रहेको छ । त्यस्तै लुम्बिनीमा सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी (जसपा) को २७३, नागरिक उन्मुक्ति पार्टीको २१२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को २३५ मतभार रहेको छ । त्यस्तै १ जना प्रदेश सभा सदस्य मात्र रहेको नेकपा एकीकृत समाजवादीको मतभार ५३ मात्र रहेको छ । त्यस्तै एक प्रदेश सभा सदस्य र स्थानीय तहमा ४ प्रमुख उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको १२९ मतभार रहेको छ ।