प्रदेशसभाले भन्योः मन्त्री शाही र सांसद वलीलाई पदमुक्त गर्न मिल्दैन

मेचीकाली संवाददाता

६ भाद्र २०७८, आईतवार
808 shares

बुटवल । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले कारवाही गरेका दुई जना सांसद पदमुक्त गर्न नमिल्ने बताएको छ । प्रदेश सभा सचिवालयले एमालेलाई आइतबार पत्र लेखेर अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको हो । दुवै सुर्य चिन्हबाट निर्वाचित सांसद हुन् ।

एमालेले विना बिभागीय मन्त्री शाही र वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाएको थियो । पत्र बुझदै सभामुख पूर्ण बहादुर घर्तीले पत्र अनुसार अध्ययन गरेर प्रक्रिया अघि बढाउने बताएका थिए । एमालेको पत्रको अध्ययन गरेर कारबाही गरेर पदमुक्त गर्न भनेका सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठाएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

वली दाङ र शाही नवलपरासीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । वली नेकपाबाट र शाही स्वतन्त्र राजनीतिक समूहबाट आवद्ध थिए । एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको ब्यहोरा एमालेलाई जानकारी गराइएको सचिवालयलको बताएको हो ।

प्रदेश सभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएको उनले बताए । दुई सांसदका कारण प्रदेशसभाको नवौं अधिवेशन भदौ १ गतेदेखि सुरु भए पनि सदन निरन्तर अवरुद्ध छ । सांसद भोलि सोमबारको लागि बोलाइएको छ । सदन चल्न नसक्दा मुख्यन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन । ८७ सदस्यीय प्रदेशसभा अहिले ८० मा झरेको छ ।