पार्वती आचार्य
कपिलवस्तु। बाणगंगा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राबिधिक सहयोगमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ‘समृद्ध वाणगंगाको मूल आधारः आर्थिक, सामाजिक रुपान्तरणसहितको पुर्वाधार’ भन्ने मूल नाराका साथ आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
बाणगंगाको आर्थिक वर्ष २०८०/०८१ को विकास निर्माण सम्बन्धी कार्य नगरपालिकाको सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टि तथा पारदर्शीता वृद्धि गर्ने सम्बन्धि विषयमा सिद्धार्थ क्याम्पसको सभा हल बुङ्चीमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले छाडाचौपाया व्यवस्थापन, नदीजन्य पदार्थको चोरी निकासी, विद्युत् चुहावट, फोहोरमैलाको उचित व्यवस्थापन, गुणस्तरीय सडक, नगर चक्रपथ, अव्यवस्थित बसोबास, नगर बस सञ्चालन, औद्योगिक क्षेत्र, सार्वजनिक शौचालय, कृषि र पशुपालनको अनुदान शिक्षा, स्वास्थ, सिँचाइको समस्यालगायतको बिषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा मेयर चक्रपाणी अर्यालले कार्यक्रमा सहभागीहरुले राखेका जिज्ञासाहरुलाई प्रष्ट पार्दै नदीजन्य पदार्थको टेन्डर भई काम भएको अव्यवस्थित बसोबासको सम्बन्धमा सरकारको अस्थिरताको कारण काम हुन नसकेको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कार्यक्रमको उद्देश्य तथा राज्यले संचालन गरेका सेवा प्रवाहलाई मूर्तरुपमा सेवाग्राही नागरिकको सन्तुष्टि प्रदान गर्ने काम कार्यालयबाट हुने गरेको बताए ।
नगरबासीबाट आएका गुनासाहरुलाई संबोधन गर्दै छाडा चौपायाको व्यवस्थापनको विषयमा नगर प्रवक्ता बिस्नुप्रसाद पौडेलले नगरबाट बजेट विनियोजन भएर पशुपक्षीको तथ्यांक संकलन भएको र कार्य अगाडि बढेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष हरि अधिकारीले नागरिक प्रतिवेदन र कोषाध्यक्ष मोहन बेल्बासेले बहिर्गमन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम पत्रकार पार्वती पाण्डेको सहजीकरणमा भएको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका उपमेयर रिताकुमारी चौधरी, ११ वटा वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु, वडा सदस्यहरु, टोल विकास समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, राजनीतिक दलका प्रमुख÷प्रतिनिधिहरु, पत्रकार लगायतको सहभागिता रहेकोे थियो ।