बुटवल। चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले मंगलबार वृहत रक्तदान, निःशुल्क सुगर परीक्षण, छात्रवृत्ति वितरण तथा सांस्कृति कार्यक्रम सम्पन्न गरेको छ । वनले हरेक वर्ष सहीद दिवसको अवसर पारेर रक्तदान तथा सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ । वि.स. २०५८ सालदेखि चारपाला वनले गर्दै आइरहेको रक्तदानमा सधैभन्दा धेरै ‘पोइन्ट ब्लड’ संकलन हुने गर्छ । वनका कार्यालय, सचिव विनोद आचार्यले मंगलबारको रक्तदानमा १६० युनिट रगत संकलन भएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय, रूपन्देहीका प्रमुख प्रभात सापकोटाले चारपाला वनको संरक्षण अभियानबाट सबै पाठ सिक्नुपर्ने बताए । उनले वनलाई जोगाउँदै त्यसबाट प्राप्त हुने स्रोतको सही सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए । डिएफो सापकोटोले वनको संरक्षण गर्ने दायित्व सबैको भएको बताउँदै चारपाला वन ऐतिहासिक र पुरातत्वको हिसावले पनि महत्वपूर्ण रहेको बताए ।
चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतनाथ शर्माले वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापन गर्दै अगाडि बढिएको बताए । वन संरक्षणको लागि हरेक वर्ष वृक्षरोपणालाई वनले प्राथामिकतामा राखेको बताए । सोही अवसरमा १६ वटा उपसमितिका ८० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक बैकुण्ठ महत, नारायण लेकाली, रितु शाही, मन्जु भट्टराई विभिन्न प्रस्तुती प्रस्तुत गरेर कार्यक्रमलाई रमाइलो र मनोरञ्जन प्रदान गरेका थिए । हरेक वर्ष वनले सांसकृतिक कार्यक्रम पनि गर्दै आएको छ । चारपाला वन नेपालकै नमुना र ठूलो वन हो । वनको क्षेत्रफल २ हजार हेक्टरभन्दा बढी छ । वनले जिल्लाको कूल क्षेत्रफलका ७.९५ प्रतिशत क्षेत्रफल ओगटेको छ । वनको यस क्षेत्रको भू क्षय कटान र नियन्त्रणमा ठूलो भूमिका खेलेको छ । वनमा दुर्लभ जंगली जनावरहरु पनि फेला परेका छन् । वनका उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।