जनै पूर्णिमाः सद्भाव र अनुशासनमा बाँध्ने पर्व

मेचीकाली संवाददाता

६ भाद्र २०७८, आईतवार
619 shares

आज हिन्दूहरूको महान् चाडको रूपमा जनै पूर्णिमा अर्थात् रक्षाबन्धन पर्व मनाइँदैछ । परापूर्वकालदेखि मनाउँदै आएको यो पर्व सद्भाव र अनुशासनको पर्व हो । जनैपूर्णिमाको दिन मूलरुपमा पवित्रताको सुचक धागो अर्थात् डोरो बाँधेर जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्यहिनता र असुरक्षालाई समाप्त गर्ने कामना गरिन्छ । आजको पर्वलाई आफन्तको माया र पवित्रता देर्शाउने एक महत्वपूर्ण पर्वका रुपमा पनि लिइन्छ । पर्वका अवसरमा समस्त देशबासीहरुमा हाम्रो पनि हार्दिक मंगलमय शुभकामना ।

अर्कोकुरा दिदीबैहिनीले दाजुभाइलाई बोलाएर जनै दिने हातमा धागो अर्थात् राखी बानी उपहार दिने पनि चलन छ । यसलाई रक्षाबन्धनका रुपमा लिइन्छ । रक्षा बन्धन अर्थात् राखी बाँधेर सुस्वास्थ र दीर्घ जीवनका लागी कामना गर्दै आशीर्वाद दिइन्छ । जसले आफन्तको आशिषलाई बुझाउँछ । एकातिर सद्भाव कायम राख्ने र अर्कातिर आशिर्वाद् दर्शाउने पर्वका रुपमा आज मनाइँदैछ । यो पर्वलाई सद्भाव, सहिष्णुता र सम्मान भाव जगाउने दिनका रुपमा लिन सकिन्छ ।

धर्मले संस्कार, अनुशासन, मर्यादा, जिम्मेवारीको पाठ सिकाउने गर्दछ । यद्यपि धेरैपहिलेदेखि कतिपयले धर्मका नाममा थिचोमिचो गर्दै आएका गुनासा पनि सुनिएका छन् । तर, अचेल त्यसप्रकारका थिचोमिचोको क्रमश अन्त्य हुँदैछ । सद्भाव कायम हुँदैछ र आपसी हितका पक्षमा समाज जुट्दैछ । यसप्रकारका पर्वले सद्भाव कायम राख्ने र समाज सुधारमा प्रेरित पनि गर्ने गर्छन् । चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ । खुसीयालीको चाड विशेष गरी विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका हुन्छन् । हरेक चाडवाडको आआफ्नै महत्व र सन्दर्भ हुन्छ । जस्तैःकुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो ।

हाम्रा सांस्कृतिक पर्वहरुलाई आफन्तसँग भेटघाट, भाइचाराको विकास, संस्कारको विकास तथा उमंगको समयका रूपमा लिने गरिन्छ । कोरोनाको महामारीले गर्दा यस वर्ष भव्यरूपमा मनाउन सकिने अवस्था छैन । तर सामाजिक परम्पराअनुसार सामाजिक दूरी कायम गरी रक्षाबन्धन पर्व मनाउनु पर्ने अवस्था सिर्जना भएको छ । पर्वका माध्यमबाट स्वास्थ्य सुरक्षाको सन्देश पनि प्रवाह गर्न सकिन्छ । आजको यस महत्वपूर्ण पर्वको सुअवसरमा सकारात्मक सोच र आत्मियताको विकासका लागि शक्तिप्रदान गर्न सकोस भन्ने आशा एवं विश्वासका साथ सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना छ ।