पार्वती आचार्य
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले अस्थायी रुपमा छाडाचौपाया व्यवस्थापन गरेपछि यहाँका किसानहरु खुसी भएका छन् । किसानहरुले लगाएको बालि छाडाचौपायाले खाएर स्याहार्न नपाएको भन्दै नियन्त्रणका लागि दवाव बढेपछि गत मंसिर २० देखि पालिकाको वडा नं। ८ स्थित दोहोनीमा व्यवस्थापन सुरु गरिएको थियो । कम्पाउण्ड गरिएको क्षेत्रमा १२ वटै वडामा रहेका छाडाचौपायालाई व्यवस्थापन गर्दै आएको नगरपालिकाले जानकारी दिएको छ ।
उक्त स्थानमा हाल १ हजार बढी छाडाचौपायालाई व्यवस्थापन गरिएको छ । छाडाचौपायालाई रेखदेख तथा व्यवस्थापनका लागि ५ जना हेरालु खटाइएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए । ‘हाल अस्थायी व्यवस्थापन गरिएको छ । चरिचरणको व्यवस्थापनको लागि प्रधानमन्त्रीसँग ज्ञापनपत्र बुझाइ जंगल माग गरेका छौँ । उक्त जंगल उपलब्ध भयो भने जिल्लाका सबै छाडाचौपायाहरुलाई स्थायी रुपमा व्यवस्थापन गर्न सकिनेछ ।’ मेयर पौडेलले भने ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले विकराल रुपमा रहेको छाडाचौपायालाई व्यवस्थापन गर्न सबै स्थानीय तहलाई नै ताकेता गरे पश्चात कपिलवस्तु नगरपालिकाले दोहोनीमा अस्थायी रुपमा व्यवस्थापन गर्दा किसानहरुलाई राहत भएको बताए । छाडाचौपायाहरुलाई व्यवस्थापन गरेपछि दुर्घटनामा कमी आउनुका साथै छाडाचौपायाहरुबाट बाटोमा हुने फोहोरमा समेत कमी आएको बताए । ‘गहुँबली नभित्र्याउञ्जेलसम्म अस्थायी रुपमा चौपाया व्यवस्थापनले किसानहरुलाई राहत भएको छ’, उनले भने । स्थायी रुपमा व्यवस्थापनका लागि स्थानीयतहसँग समन्वय भइरहेको प्रमुख आचार्यले बताए ।
यस्तै वडा नं। ३ का वडा अध्यक्ष तथा छाडाचौपाया व्यवस्थापन समितिका संयोजक प्रकाश गैरेले अस्थायी रुपमा भए पनि छाडाचौपायाहरुलाई व्यवस्थापन गरेपछि किसानहरुले मेहेनत गरेर लगाएको खेती जोगिनुका साथै दुर्घटनामा समेत कमी आएको बताए । ‘बाटोभरि छाडाचौपायाको मलमुत्रले फोहोर देखिने नगरमा सुधार भएको छ र विद्यालय आउँदा जाँदा बालबालिकाहरुलाई समेत छाडाचौपायाहरुले हान्दिन्छन् भन्ने अभिभावकहरुलाई डर थियो । अहिले त्यस किसिमको डर छैन र किसानहरु पनि छाडाचौपाया व्यवस्थापन भएपछि खुशी हुनुभएको छ ।’ वडा अध्यक्ष गैरेले भने ।
कम्पाउण्डभित्र व्यवस्थापन गरिएका चौपायाहरुलाई पराल र पानीको व्यवस्थापन गरिएको छ । चौपायाहरुलाई दिनमा ५० हजार रुपैयाँ बराबरको खर्च नरपालिकाले गर्दै आएको छाडाचौपाया व्यवस्थापनका संयोजक गैरेले बताए ।
यसैबिच माघ १४ गते इन्सेक प्रतिनिधि, मानव अधिकार समूह कपिलवस्तु नगरपालिकाका अध्यक्ष पुस्पा रेग्मी र समूहका सदस्य कृष्ण अग्रहरीको टोलीले अव्यवस्थित छाडाचौपाया व्यवस्थापनको स्थलगत अनुगमन गरेको थियो । सो अवसरमा किसान त्रियोगी कुर्मी, क्षेदी धोवी र बसन्त बारीले छाडाचौपायालाई अस्थायी रुपमा भएपनि कपिलवस्तु नगरपालिकाले किसानहरुको समस्या र मिहिनेतलाई बुझेर चौपाया व्यवस्थापन गरेकोमा धन्यवाद दिए ।
रातभरि अनिद्रामा बस्दा पनि आफूले लगाएको खेती स्याहार्न नपाएका हामी किसानहरु मंसिर २० गते देखि ढुक्क भएको र हिंउँदै बाली राम्रोसंग स्याहार्न पाउने आशामा रहेको भन्दै कपिलवस्तु नगरपालिका परिवारप्रति खुशी व्यक्त गरेका छन् ।
मानव अधिकार समूहका अध्यक्ष रेग्मीले किसानहरुले साहुसंग ऋण लिएर बिउ खरिद, मलखादको खरिद गरेका किसानहरुले लगाएको खेती स्याहार्न नपाउनु दुखको बिषय रहेको बताइन् । छाडाचौपाया व्यवस्थापनको लागि इन्सेक, मानव अधिकार समूहले प्रमुख जिल्ला अधिकारीमार्फत कपिलवस्तु नगरपालिकालगायत जिल्लाका १० स्थानीय तहलाई छाडाचौपाया व्यवस्थापन गर्न असोज ११ गते ध्यानाकर्षण पत्र बुझाएको थियो ।
मंसिर २० गते सोको अस्थायी रुपमा कार्यान्वयन भएको छ भने यसलाई स्थायी रुपमा व्यवस्थापन गर्न जरुरी भएको बताइन् । अनुगमनका क्रममा साँढे र साना बाच्छीहरु एकै कम्पाउण्डभित्र रहँदा साँढेबाट बाच्छीहरु जोखिममा परेको पाइएको हुँदा छुट्टाछुट्टै व्यवस्था हुनुपर्ने रेग्मीले बताइन् ।
नगरपालिकाले हेरालुमार्फत जानकारी लिई बिरामी चौपायाहरुलाई उपचार गर्दै आएको नगरपालिकाले जनाएको छ । हेरालु सफिक खानले राष्ट्रिय जनावरको रुपमा मानिने गाईकोे सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताए ।