बाणगङ्गामा एकीकृत घुम्ती शिविर सञ्चालन

मेचीकाली संवाददाता

१८ माघ २०८०, बिहीबार
122 shares

पार्वती आचार्य
कपिलवस्तु । सिंहदरवारको परिकल्पनालाई सार्थकता दिन बाणगङ्गा नगरपालिकाले वडाको गाउँगाउँमा गएर एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । नगरपालिकाले माघ १७ गते देखि वडा न. १० मेचकुरीबाट सेवा सञ्चालन गरेको छ ।

शिविरमा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले अनुगमन गर्दै नागरिकलाई सहज रुपमा सेवा दिन एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको बताउनु भयो । उनले बाणगङ्गाबाट उपलव्ध सेवा ग्रामिण क्षेत्रमा रहेका नागरिकलाई लक्षित गरेर मेचकुरीबाट सेवा सञ्चालन गरेको बताउनु भयो ।

शिविरमा उपमेयर रिता कुमारी चौधरीले स्वास्थ्य जाँच गर्न पहुँच नपुगेका , कृषि परामर्शलाई नगरपालिका सम्म पुग्न नसकेका र नगरपालिकाबाट के कसरी काम हुन्छ भन्ने जानकारी नभएका जनताको हितका लागि शिविर सञ्चालन गरेको बताउनु भयो । उहाँले शिविरमा १० न. वडाका जनता प्रत्यक्ष रुपमा सहज सेवा लिएको बताउनु भयो ।

शिविरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाको सेवा प्रवाहलाई चुस्त दुरुस्त गर्नका लागि शिविर सञ्चालन गरिएको बताउनु भयो । नगरको सचेतना कम भएका ठाँउमा र जनताको घरदैलोमा सेवा प्रवाह प्रभावकारी हुने मरासिनीले बताउनु भयो ।

वडा न. १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलले नगरको सेवा आफ्नै वडामा पुगेपछि वडा बासिलाई सजिलो भएको बताउनु भयो । वडा अलिकति विकट भएकाले नगरको सेवाले नागरिकमा थप आशा जगाएको बताउनु भयो । “कृषिको बिउ परिक्षण गर्न, माटो परिक्षण गर्न, समान्य स्वास्थ्य जाँच गराउन, परामर्श लिनकै लागि कोही नागरिक नगरमा पुग्न नपर्ने बताउनु भयो ।

यस्तै सेवालीन आएका सेवाग्राहीहरुले नगरपालिकाले राखेको शिविरले वडावासीलाई सजिलो भएको बताउँदै नगरमा जानुपर्ने कार्य शिविरबाट प्राप्त गर्न सकिने भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

स्वास्थ्य शाखा अन्तर्गत प्राथमिक उपचार तथा परामर्श सेवा प्रदान गरिएको छ । उक्त शाखामा २ सय ३० जनाले सेवा लिएका छन् । आयुर्वेद तर्फ २ सय ६५ जनाले सेवा लिएका छन् ।

यस्तै कृषि विकास शाखा अन्तर्गत बाली उपचार तथा विषादी सचेतना, कृषि समुह दर्ता तथा नवीकरण, कृषि फर्म सूचिकृत, प्राविधिक परामर्श सेवा प्रदान गरिएको छ । उक्त शाखामा १ सय ७० जनाले सेवा लिएको कृषि शाखाले जनाएको छ ।

यस्तै पशु विकास शाखा अन्तर्गत, गोबर परिक्षण, माटे जुका ÷ मिनरल भिटामिन औषधी वितरण, पशु पंक्षि उपचार , फर्म दर्ता तथा नवीकरण तथा प्राविधिक परामर्श सेवा प्रदान गरिएकोमा १ सय ९४ जनाले सेवा लिएका छन् ।

यस्तै सुरक्षित आप्रवासन शाखा अन्तर्गत मनोसामाजिक परामर्श सेवा तथा वित्तिय साक्षरता सम्बन्धी सेवा र वैदेशिक रोजगारीका सूचनाहरूको जानकारी दिइएको थियो । जसमा ६० जनाले सेवा लिएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाबाट परिचय पत्र प्रदान गर्नुका साथै अपाङ्ग परिचय पत्र प्रदान गरिएको थियो । जसमा २१ जनाले सेवा लिएको शाखा प्रमुख शुसिला पन्तले जानकारी दिनु भयो ।

वन वातावरण विपद् तथा फोहोरमैला व्यवस्थापन शाखा अन्तर्गत परामर्श सेवा, निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण सम्बन्धी आवेदन संकलन गरिएको छ । जसमा ११ जनाले सेवा लिएको जनाईएको छ । प्रधानमन्त्री रोजगार शाखा अन्तर्गत परामर्श सेवा, श्रम स्वीकृति सम्बन्धी सेवा, शैक्षिक बेरोजगारीहरूको विवरण संकलनमा ११ जनाले सेवा लिएका छन् ।

यस्तै भवन तथा सहरी सम्बन्धी १० जनाले सेवा लिएका छन् भने योजना शाखा अन्तर्गत योजना सम्झौता, योजना अनुगमन तथा फरफारक सम्बन्धी ६ जनाले सेवा लिएका छन् । घरेलु तथा साना उद्योग सम्बन्धी ५ जनाले सेवा लिएका छन् । शिक्षा शाखा अन्तर्गत शैक्षिक परामर्श सेवा २ जनाले लिएका छन् । जम्मा घुम्ति शिविरमा ९ सय ८५ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ ।

भूमि शाखा अन्तर्गत परामर्श सेवा कित्ताकाट सम्बन्धी सिफारिस , राजश्व शाखा अन्तर्गत व्यवसाय दर्ता तथा ÷ नवीकरण र कर असुली सम्बन्धी सेवा प्रदान गरिएको नगरपालिकाका सूचना अधिकारी केशव भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाका सम्पूर्ण शाखाहरुले सेवाग्राहीहरुलाई सेवा प्रदान गरेका छन् ।