आम्दानीसँगै सौन्दर्यकरण र आत्मनिर्भरताको माध्यम बनेको गुप्ता नर्सरी

मेचीकाली संवाददाता

२ कार्तिक २०८२, शनिबार
16 shares

मिलन गाहा
बुटवल । बि.सं २०२२ सालमा सामान्य सागसब्जीको बेर्नाबाट सुरु गरिएको गुप्ता नर्सरी आज व्यावसायिक रूपमा परिचित बनेको छ। सामान्य लगानीबाट सुरु गरिएको यो नर्सरीमा अहिले करोडौँ रुपैयाँको लगानी पुगेको छ।

गुप्ता नर्सरी रघुनाथ गुप्ताले स्थापना गरेका हुन् । अहिले उनका छोराहरू सुरज, शम्भु र दाजुभाइहरू मिलेर नर्सरी सञ्चालन गरिरहेका छन्। पुस्तौँदेखि निरन्तरता पाएको यस व्यवसायले न केवल आर्थिक आम्दानी बढाएको छ, बरु स्थानीय सौन्दर्यकरण र आत्मनिर्भर उत्पादनमा पनि योगदान पुर्‍याएको छ।

नेपाललाई प्रकृतिले दिएको अनुपम सुन्दरतालाई अझ निखार्ने कार्यमा फूलहरूको भूमिका विशेष रहँदै आएको छ। पर्यटन व्यवसायदेखि पार्क निर्माणसम्म, फूल र हरियालीले आकर्षण थप्ने काम गर्छन्। हाल घरघरमा बगैँचा र गमलामा फूल लगाएर सजाउने चलन तीव्र गतिमा बढ्दो छ।

गुप्ता नर्सरीले विगतमा विदेशी देशहरूबाट विभिन्न किसिमका फूल र बिरुवा आयात गर्नुपर्थ्यो। अहिले भने तिनीहरू आफ्नै उत्पादनमा निर्भर भएका छन्। रुपन्देही र पाल्पा गरी करिब २० बिगाहा क्षेत्रफलमा फलफूलका प्लान्टहरू उत्पादन भइरहेका छन्।

सञ्चालक शम्भु गुप्ता भन्छन्, ‘हाम्रा बुबाबाजेले सुरु गरेको पुख्र्यौली पेशाबाट हामी सन्तुष्ट छौँ। अहिले हामीले धेरै बेरोजगार युवालाई समेत रोजगारीको अवसर दिन सकेका छौँ।’

‘हामीलाई फूल बेचेको आम्दानीले मात्र खुशी दिँदैन, आफैंले सजाएका घर र पार्कहरू हेर्दा मनमा आनन्दको अनुभूति हुन्छ।, सुरज गुप्ता भन्छन्, ।

गुप्ता नर्सरीमा फूलहरूका अतिरिक्त नगदे बालीका रूपमा आँप, लिची, बेलौती, कटहर, कागती लगायतका फलफूलका बिरुवा पनि बिक्री गरिन्छन्। दिनेश गुप्ताका अनुसार रुपन्देही र पाल्पालाई मुख्य कार्यक्षेत्र बनाएर नर्सरीले निरन्तर सेवा दिइरहेको छ।

बिदेशी बिरुवा आयात घटाउँदै आत्मनिर्भर उत्पादनमा जोड दिँदै गुप्ता नर्सरीले देशको आर्थिक सन्तुलनमा पनि योगदान पुर्‍याएको छ। यसरी विभिन्न क्षेत्रमा आत्मनिर्भरता विकास गर्न सके, नेपालको अर्थतन्त्र अझ सबल र दिगो बन्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।