 
	 
									बुटवल। प्रहरीले कपिलवस्तुबाट भन्सार छलेर लुकिछिपी ल्याएको रासायानिक मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट कार्यालय प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध रूपमा भन्सार छलेर ल्याई वाणगंगा ननगरपालिका–१० का विभिन्न व्यक्तिको घरमा भण्डारण गरेर राखेको युरिया र डिएपी मल बरामद गरेको हो ।
अवैध रूपमा भन्सार छलेर मल ल्याएको सूचनाका आधारमा शुक्रबार बिहान कार्यालय प्रमुख प्रहरी निरीक्षक पौडेलको कमाण्डमा ११ जनाको प्रहरी टोली खटिएको थियो । उक्त स्थानमा खानतलासी गर्दा ५० केजीका २१६ बोरा डिएपी र ५० केजीकै १० बोरा युरिया मल बरामद गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
उनका अनुसार वाणगंगा नगरपालिका–१० का सन्तराम थारुको घरबाट १५८ बोरा डिएपी मल, सोही स्थानका दशरथ शाहीको घरबाट २१ बोरा डिएपी मल, सिलाशान्ति कोहारको घरबाट ३३ बोरा डिएपी मल र सुलेमान मुसलवानको घरबाट ४ बोरा डिएपी मल र १० बोरा युरीया मल बरामद गरिएको हो । उक्त मल नेपाली बजारमा विक्री गर्दा अन्दाजी ५ लाख २८ हजार ४०० रुपैयाँ पर्छ ।
यस्तैगरी कपिलवस्तुकै शुद्धोधन गाउँपालिका–१, अनहराटस्थित एक घरमा सशस्त्र प्रहरीले छापा मारेर अवैध रूपमा लुकाएर राखिएको अनुदानको १२४ बोरा डिएपी मल बरामद गरेको छ । बिहीबार दिउँसो सुराकीका आधारमा सशस्त्र प्रहरी बल नम्बर २८ गणबाट खटिएको टोलीले फुलचन्द्र यादवको घरमा छापा मारेको प्रहरीले जनाएको छ । कृषि सामग्री कम्पनीमार्फत सहकारीले पालिकाको कोटाअनुसार मल ल्याएको बताइए पनि सहकारीहरूले किसानका नाममा आएको अनुदान मल बढी मूल्यमा बेच्ने गरेको आरोप किसानहरूले लगाएका छन् ।

 
		 
		 
			   
		 
             
             
             
             
             
             
		 
                                 
                                 
                                