सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मेचीकाली संवाददाता

२४ माघ २०८०, बुधबार
165 shares

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कपिलवस्तुको साविक पकडी गाबिस, ४ हाल मायादेवी गाउँपालिका वडा नम्बर १ घर भएका ४३ बर्षीय धर्मेन्द्र केवटलाई घटनाको ८ बर्षपछि माघ २२ गते प्रहरीले पक्राउ गरेको हो ।

सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक राजिब श्रेष्ठको टोलीले केवटलाई पक्राउ गरेको हो । २०७२ माघ २६ गते केवटसहित ५ जना युवाहरुले सामुहिक बलात्कार गरी त्यसको भिडियो बनाई सामाजिक सञ्जालमा राखेका थिए ।

घटनामा मायादेवी गाउँपालिका पकडी पिर्चुखीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई सामूहिक बलात्कार घटनामा दोषी ठहर गरेको थियो । भारत घर भई आफ्नो मामा घर पकडी बस्ने २० बर्षीया युवतीको फुपुको घर बाँसखोर विमिहा जाने क्रममा २०७२ साल माघ २६ गते पिर्चुखी स्थित मर्थी खोला नजिकै नियन्त्रणमा लिई सामूहिक बलात्कार भएको थियो ।

बलात्कार पश्चात् युवतीको नग्न भिडियो समेत बनाई सामाजिक संजालमा हालिएको थियो । सोहि आधार तथा प्रमाण अनुसार प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरि मुद्धा दायर गरेको थियो । पक्राउ परेका केवटलाई मंगलबार अदालत हाजिर दाखिला गरिएको प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताए ।

जिल्ला अदालत कपिलवस्तुको २०७५ असोजमा गरेको फैसलाले जबरजस्ती करणी मुद्दामा संलग्न पाँच जनालाई ११ वर्ष कैद र १÷१ लाख जरिवाना तोकेको थियो । २० बर्षीय युवतीलाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।