सिद्धार्थ माविमा मनाइयो किड्स डे

मेचीकाली संवाददाता

२६ माघ २०८०, शुक्रबार
391 shares

तिलोत्तमा । तिलोत्तमा–४ स्थित सिद्धार्थ मा.वि.मा साना बालबालिकाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले शुक्रबार किड्स डे मनाइएको छ ।

विद्यालयका सञ्चालक समितिकी सदस्य सावित्री शर्मा नेपालको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रमम भएको थियो । मानकाजी श्रेष्ठ, क्याप्टेन नरबहादुर थापा, देव बहादुर थापा, पूर्ण पौडेल, अभिभावक लगायतको अतिथ्यिता रहेको थियो । उक्त कार्यक्रममा विद्यलायका प्रि नर्सरीदेखि ३ कक्षासम्मका विद्यार्थीहरू सहभागी भएका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले स्वागत गीत, सामुहिक गीत, सामुहिक नृत्य, नाटक, प्रहसन तथा नेपाली र अङ्ग्रेजी राइम्समा नृत्य गरेका थिए । विद्यालयका सह–प्राचार्य रमेश प्रसाद वश्यालले स्वागत गर्दै कार्यक्रमको उद्देश्य तथा औचित्यको बारेमा प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथि आचार्यले हरेक विद्यार्थीमा कुनै न कुनै प्रतिभा हुने तथा यस्ता कार्यक्रमले उनीहरूको प्रतिभा उजागर गर्ने भन्दै साना बालबालिकाहरूको प्रतिभाको सराहना गर्नुभएको थियो ।

सोही कार्यक्रममा विद्यालयको गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मेघराज भट्टराई तथा स–साना वालवालिकाहरूले पनि गरेका थिए ।