यातायात मजदुर र सन्तान लक्षित कोष स्थापना

मेचीकाली संवाददाता

२६ माघ २०८०, शुक्रबार
1020 shares

बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको लुम्बिनी प्रदेश कमिटीले अग्रज मजदुर र तिनका सन्तानलाई लक्षित गरेर विशेष कोष स्थापना गरेको छ । संगठनले मजदुरका जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति उपलव्ध गराउने र अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नेगरी ७ लाखको कोष स्थापना गरेको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीले अग्रज मजदुरलाई सम्मान र मजदुरका छोराछोरीलाई छात्रवेतिका लागि विशेष प्रोत्साहन कोष स्थापना गरेको संगठनका लुम्बिनी प्रदेश अध्यक्ष मोहनबहादुर केसीले जानकारी गराए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको शुक्रबार सम्पन्न योजना बैठक मार्फत कोषका लागि रकम विनियोजन गरेको हो । विनियोजित रकमबाट प्राप्त व्याजबाट अग्रज यातायात मजदुरहरुलाई सम्मान र यातायात मजदुरका छोराछोरीहरुलाई छात्रवृति प्रदान गर्न कोष स्थापना गरिएको संगठनका लुम्बिनी प्रदेश अध्यक्ष केसीको भनाइ छ ।

पुराना, इमान्दार र अनुशासित मजदुरहरुलाई सम्मान गर्ने, यातायात मजदुरका छोराछोरीलाई शिक्षामा सहयोग गर्ने र मजदुरका काममा निरन्तर काम गर्ने कुशल संगठकहरु मध्येबाट छनौट गरी सम्मान गर्ने उदेश्यले केन्द्रीय कमिटीले विनियम निर्माण गरेर देशभरका कमिटीहरुलाई निर्देशन गरिए बमोजिम लुम्बिनीले उक्त कोष स्थापनाका लागि योजना संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सुझाएपछि कोष स्थापना भएको हो ।

अग्रज र अनुशासित मजदुरहरुलाई सम्मान र मजदुरहरुका छोराछोरीहरुलाई पठनपाठनमा संगठनको निजी स्रोतबाट सहयोग गरिएकाले संगठन केन्द्रीय कमिटीले योजना बनाएरै देशैभरीका कमिटीहरुलाई कोष स्थापनामा आह्वान गरिएको संगठनका अध्यक्ष राईले बताए ।

श्रमिकहरु कार्यरत स्थानमै पुगेर सहयोग गर्ने र संगठनमा संलग्न गराउने उदेश्य सहित आगामी चैतसम्मका लागि संगठन विस्तार र परिचालन योजना संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुरप्रसाद गैरेले प्रस्तुत गरेका थिए ।
बैठकमा संगठनका केन्द्रीय महासचिव केशवबहादुर थापा (निरु) ले देशभरी सञ्चालन भइरहेको अभियानको समिक्षा प्रस्तुत गरेका थिए । बैठकको सञ्चालन सचिव हुमबहादुर क्षेत्रीले गरेका थिए ।