नेपाली कामदारको विहेमा कोरियाबाट आए कम्पनीका सिइओका दम्पती

‘हामी बुद्धिष्ट हौं, बुद्ध जन्मेको देशमा पहिलोपटक आयौं, धेरै खुसी छौं’

मेचीकाली संवाददाता

२९ माघ २०८०, सोमबार
67 shares

बुटवल । रुपन्देहीको सैनामैना गाउँपालिका वडा नं २ बिहानीटोलका गणेश क्षेत्रीको माघ महिनाको अन्तिम दिन विवाहको कार्यक्रमले त्यो टोलमा त्यसैपनि खुसीयाली छाएको छ, उसैगरी रमाइलो पनि छ तर त्योभन्दा धेरै खुसीयाली र रमाइलो उनको विवाहको लागि कोरियाबाट आएका एक जोडीले बनाएका छन् । बिहेघर र गाउँमा दुलाहदुलहीको भन्दा बढी चर्चामा रहेका छन् ती जोडी ।

गणेश ५ वर्षदेखि कोरियामा अध्ययन र रोजगारीका लागि पुगेका हुन् । उनको इमान्दारिता र मेहनतको सम्मान गर्दै उनी कार्यरत कम्पनीका प्रमुख अहिले विवाहमा आएर उस्तै रमाइलो गरेका छन् । भाषाका हिसाबले अंग्रेजी, नेपाली केही नबुझ्ने ६४ वर्षीय योङ वा स्किम श्रीमति ह सुनेहलाई लिएर आफ्ना कामदारको वैवाहिक कार्यक्रमका लागि विशेष समय मिलाएर घरमै आएर बसेपछि अहिले गणेश, उनका परिवार र उनको टोलमा चर्चा चुलिएको छ ।

‘नेपालमा मालिकहरुले कामदारलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ तर कोरियालीले कामदारलाई सम्मान गरेर आफ्ना सबै काम छोडेर कामदारको विवाहमा लाखौं खर्च गरेर नेपाल आएका छन्, यो नेपालीहरुप्रतिको उच्च सम्मान पनि हो, कामदारप्रतिको सम्मान हो, कोरियनहरु काम गर्ने मान्छेलाई निकै आदर गर्छन्’ दुलाह गणेशका छिमेकी कोरिया बसेर फर्केका उमेश अर्याल भन्छन् ।
सोमबार सैनामैनाबाट विवाहमा बुटवलको बेलबास जन्ती बनेर आएका कोरियन नागरिक योङ यहाँको परम्परालाई नजिकबाट हेरिरहेका थिए । आफ्ना कामदार गणेश बेहुला भएकाले धेरै बोल्न नमिल्ने तर दोभासेको काम गरिरहेका उमेशले यहाँको परम्परा र अवस्थाबारे उनलाई जानकारी दिइरहेका थिए । योङको जोडीले सबै कर्महरु चाख दिएर हेरिरहेका थिए ।

बिहेमा सहभागी बेहुला र बेहुली पक्षका अधिकांशको ध्यान उनीहरुको जोडीलाई हेरिरहेका देखिन्थे । सँगै फोटा खिचाउने, भिडियो खिचाउने गरिरहेका उनीहरु निकै रमाइरहेका थिए ।
विवाहका लागि आफ्ना कम्पनीका मालिकलाई निमन्त्रणा गरेर केही साताअघि गणेश नेपाल आएका गणेश योङको जोडी आएसँगै निकै खुसी छन् । दक्षिण कोरियामा युङ वा छिवुङ कम्पनी चलाइरहेका योङको जोडी गणेशका विवाहका लागि एक साताअघि नेपाल आएको बताए । ‘म पनि बुद्धिष्ट हो, हामी धेरै कोरियामा बुद्धिष्ट छौं, गणेशको विवाह भएकैले पहिलोपटक नेपाल आउन पायौं, पहिले लुम्बिनी पुगेर आयौं, निकै रमाइलो लागेको छ,’ उनले भने,‘कोरियाको विहे संस्कृति र यहाँको धेरै फरक रहेछ, सुरुदेखि सबै प्रकृया हेरिरहेको छु ।’
योङ पहिलोपटक नेपाल आएका हुन् । आफ्नो कम्पनीमा रहेका सबै देशका कामदारमध्ये सबैभन्दा इमानदारी नेपाली कामदारमा रहेको उनले बताए । ‘म अरु देश पनि गएको छु तर विवाहका लागि अरु कामदारको देशमा गएको थिएन, गणेशको इमानदारीको सम्मान गर्दै सबै काम छोडेर आएको हौं, हामीले कामको सम्मान गर्छौं, एक ठाउँको राम्रो विषयलाई ग्रहण पनि गर्छौँ,’योङले भने ।

दुलाह गणेशका छिमेकी अमृत गिरीले योङ सैनामैनामा आएर बसेपछि टोलमै धेरै रमाइलो भइरहेका बताए । ‘कोरियामा सम्पन्न घरानाको मान्छे यहाँको कामदारको सम्मान गर्दै एकसाता आएर बस्नु सामान्य विषय होइन, यसले निकै राम्रो सन्देश दिएको छ, हामीले कामदारलाई हेर्ने दृष्टिकोण र उनीहरुको धेरै फरक रहेछ, भाषा,खानपिन नमिल्ने उमेर पनि बूढो भएको मान्छे परिवारलाई लिएर आएकाले पनि धेरै खुसी लागेको छ,’ उनले भने ।

कालिका आधारभूत सामुदायिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका दुलहाकट छिमेकी बाबुराम बस्यालले योङको परिवारले आफूहरुलाई पनि धेरै कुरा सिकाएको बताए । ‘हामीले श्रमको सम्मान कमै गरेका हुन्छौं, साहुले कामदारको वास्ता गर्ने निकै कम हुन्छ तर कोरियन योङको जोडीको उच्च सम्मानले धेरै कुरा सिकाएको छ, हामीलाई केही कुरा परिवर्तन गर्नुपर्छ भन्ने सिकाएको छ ।