बुटवलमा ‘एक चिहान नाटक’ मञ्चन हुँदै

मेचीकाली संवाददाता

२९ माघ २०८०, सोमबार
75 shares

बुटवल। बुटवलमा एक चिहान नाटकको मञ्चन हुने भएको छ । यही फागुन ३, ४ र ५ गते बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक चिहान नाटकको मञ्चन हुन लागेको हो ।

बुटवल–८ सुख्खानगरस्थित रागश्री संगीतालयको आयोजनामा हुन लागेको मञ्चनको तयारी पूरा भएको संगीतालयका व्यवस्थापन सुरेश सेञ्चुरीले पत्रकार सम्मेलनमार्फत जानाकारी दिए । हृदयचन्द्र सिंह प्रधानको लेखन रहेको नाटकको निर्देशन नकुल पौडेलको रहेको छ ।
काठमाडौंमा आउने ११ जना र स्थानीय ५ कलाकार गरी नाटकमा कुल १६ कलाकारले विभिन्न भूमिकामा नाटक खेल्नेछन् । कुल ९ लाख खर्च अनुमान गरिएको नाटक मञ्चन दैनिक ३ शो हुने उनले बताए ।

उनका अनुसार प्रत्येक बिहान साढे ८ बजे, १ बजे र ३ बजे नाटक मञ्चन हुनेछ । पाठ्यक्रममा समेत समावेश भएको यो नाटकमा अधिकांश विद्यार्थीहरुको सहभागिता हुने सेञ्चुरीले बताए । नाटक अवलोकनका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ टिकट दर कायम गरिएको छ । व्यवस्थापन सेञ्चुरीले एक चिहान नाटक मञ्चन पछि मोफसलमा पनि नाटक मञ्चन हुन सक्ने सन्देश बाहिर प्रभाव हुने बताए ।

पत्रकार सम्मेलनमा कलाकार बावुराम घिमिरे, संगीतालयका सदस्य माधव भण्डारीलगायतले बोल्दै मोफसलमा हुन थालेको बहुचर्चित नाटकलाई अवलोकनका लागि आउन आग्रह गरे । कार्यक्रम सञ्चारकर्मी छाया पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।