बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मेचीकाली संवाददाता

१ फाल्गुन २०८०, मंगलवार
140 shares


नेत्र गैरे

पाल्पा । बगनासकाली गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले पालिकाका जनतालाई दिएको सेवा प्रवाह र विकास गतिविधिका विषयमा सार्वजनिक सुनुवाई गरेको हो ।


गाउँपालिकाको आयोजना र बगनासकाली पत्रकार समूहको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले यो वर्ष पालिकाले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्दै यो वर्ष २६० वटा योजना सम्झौता भइ काम भएको उल्लेख गर्नु भएको छ । यो अवधिमा ६० बढी योजना सम्पन्न भएको बताउदै पुजीगत तर्फ १४.४३ र चालू तर्फ ३९.९७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनु भएको थियो । उहाँले सेवा प्रवाहमा कुनै कमी हुन नदिने बताए ।


गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने विषयमा गाउँपालिका सम्वेदनशील रहेको बताइन । उनले गाउँपालिकाले सिमीत स्रोत र साधनका बाबजुद पनि बिकास र्निमाणका काममा सबैको साथ र सहयोगमा कामगर्ने, एकीकृत घुम्ती शिविर मार्फत टोलमै सेवा प्रदान, बिभिन्न लोककल्याणकारी कार्यक्रमहरु पालिकाको प्रमुख महत्व भित्र रहेको बताइन् । उनले नागरिकलाई सहज सुविधा दिने कुरामा बगनासकाली गाउँपालिका निरन्तर लागिपरेको समेत बताइन । अध्यक्ष चिदीले सार्वजनिक सुनुवाईमा उठेका विषय र आएका सुझावहरुलाई आत्मसात् गर्दै आगामी दिनमा अगाडि बढ्ने समेत प्रतिबद्धता जनाइन । अध्यक्ष सरस्वती चिदीले आर्थिक पारदर्शीता,सुशासन सहितको सेवा प्रवाहमा जोड दिने बताईन । उनले जनता संग जोडिएको सरकार स्थानीय सरकार रहेकोले बगनासकालीका नागरिकसंग जवाफदेही भएर काम गरिने प्रतिवद्धता समेत व्यक्त गरिन ।
गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले जनताका गुनासोलाई यथाशिघ्र संवोधन गरिने बताए । उनले गाउँपालिकाका विकास निर्माणलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने बताए । उनले पालिकाको समग्र विकासका साथै गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुका साथैे काम गर्ने दौरानमा केहि समस्या भए तत्काल सुझाव राख्न आग्रहगर्दै बगनासकाली गाउँपालिकाको सुशासन वृद्धिका विषयमा सघाउन आग्रह गरे । गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले जनताले दिएको सुझावलाइ ग्रहण गरेर अघिबढ्ने बताए ।


सेवाग्राहीहरुले उठान गरेका विषयहरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साल सहित बिषयगत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।


सार्वजनिक सुनुवाई कार्यक्रममा नेकपा एमालेका ढकेश्वर बस्याल, नेपाली कांग्रेसका गणेशप्रसाद नेकपा माओवादीका खुमबहदुर बिक ,जनता समाजवादीका खिक बहादुर रेश्मी ,पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिना, रामप्रसाद ढुङ्गाना, श्री बहादुर कवँर, कुल प्रसाद ढुंगाना लगायतले सेवाग्राहीहरुले गाउँपालिका र वडा कार्यालयको सेवा प्रवाह, नागरिकका अपेक्षा लगायतका विषयमा जिज्ञाशाहरु राखेका थिए । गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन अल्पकालिन र दिर्घकालिन योजना बनाई काम गर्नुपर्ने, बाँदर समस्या बढ्दै गएको, कृषि तथा पशुपालनका कार्यक्रमहरुमा युवाहरुको आकर्षण बढ्न नसकेको, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जनताले सोचेजस्तो प्रगति नदेखिएको, जग्गा वर्गिकरणका बिषयमा पुर्नबिचार गरिनु पर्ने, खानेपानी, बिद्युत व्यवस्थापन, पालिका भित्रका सडक व्यवस्थापन, बिद्यालयमा दिवा खाजा, लगायतका बिषयमा समेत जिज्ञासा राखेका थिय ।


बगनासकाली पत्रकार समूहका सचिव दयाराज न्यौपाने द्धारा सार्वजनिक सुनुवाईका क्रममा संकलन गरिएको नागरिक अभिमत र सेवाग्राहीहरुको अभिमतपत्रको सार प्रस्तुत गरिएको थियो । जनप्रतिनिधि,कमर्चारी,सेवाग्रही,पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागीता रहेको सार्वजनिक सुनुवाईको सहजीकरण बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिना र उपाध्यक्ष नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो ।