बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ स्थित ज्ञानगंगा पाठशालामा सरस्वती पूजा कार्यक्रमको अवसरमा अभिभावक म्याराथुन दौड प्रतियोगिता एक समारोहका बिच सम्पन्न भएको छ ।
करिब ११ सय विद्यार्थीलाई वसन्त पञ्चमी तथा श्रीपञ्चमीको पावन अवसरमा विद्यालयमा सरस्वती पूजामा सरिक गराइएको थियो। सो अवसरमा विद्यालयका अभिभावकलाई समेत खेलकुद क्रियाकलापमा सक्रिय रहँदा स्वास्थ्यलाई सकारात्मक फाइदा पुग्ने उद्देश्यले म्याराथुन दौड प्रतियोगिता गराइएको विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेले जानकारी दिए ।
२७ जना पुरुष अभिभावक र ५८ जना महिला अभिभावकलाई दौड प्रतियोगितामा प्रमुख अतिथि संघीय सांसद बासुदेव घिमिरेले जर्सी प्रदान गरेका थिए । स्वास्थ्य नै मानव जीवनको धन भएकाले खेलकुदलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
दौड प्रतियोगितामा विजयी हुने पुरुष र महिलातर्फका अभिभावकलाई पुरस्कार तथा मायाको चिनो फागुन ७ गते विद्यालयको वार्षिक उत्सव तथा शैक्षिक महोत्सवमा प्रदान गरिने विद्यालयका प्राचार्य चन्द्र अधिकारीले बताए । सम्भवतः यो प्रतियोगिता यस क्षेत्रकै पहिलो र अभिभावकको सक्रिय सहभागिता रहेको उनले बताए ।
सरस्वती पूजाको अवसरमा अक्षरारम्भ गर्ने उमेर समूहका ९४ जना बालबालिकाहरु भर्ना भएको विद्यालयका सहप्राचार्य केशवराज पन्तले बताए । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकाले फागुन ७ गते गर्ने बिभिन्न कार्यक्रम आयोजना गरिएको बताए ।