बुटवल । अनेरास्ववियु तिलोत्तमा नगर कमिटिले तिलोत्तमा–२ स्थित शंकरनगर दुर्गादत्त माविमा अक्षयकोष स्थापना गरेको छ ।हरेक वर्ष गरिब, जेहेन्दार तथा अतिविपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरीएको हो । अनेरास्ववियु नगर कमिटिले उक्त रकम विद्यालयको वार्षिक उत्सवको अवसर पारेर बुधबार विद्यालयलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष भरत अर्यालले विद्यालयमा गरेको लगानी निकै प्रभावकारी र लाभदायक हुने बताउँदै गरिब तथा जेहेन्दार बालबालिकाको लागि केही हौसला बन्ने विश्वास व्यक्त गरे । उनले यो रकमलाइ अझै बढाउँदै लैजाने प्रतिबद्धता जनाए । अक्षयकोषका लागि दिएको रकमको सहि सदुपयोग गर्न उनले सुझाव दिए ।
कार्यक्रममा बोल्दै जिल्ला कमिटी सह–सचिव तथा तिलोत्तमा नगर कमिटी अध्यक्ष सरोज खनालले कुनै पनि विद्यार्थी पढ्नबाट बन्चित नहोस् भन्ने उद्देश्यले यो अक्षयकोष स्थापना गरेको बताए । ‘यही विद्यालयमा अखिल साँझ गरेका थियौँ जसबाट उठेको रकम हामीले यही विद्यालयलाई दिनुपर्छ भनेर अक्षयकोष स्थापना गरेका हौँ ।’ उनले भने ।
विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डेले अनेरास्ववियु तिलोत्तमा नगर कमिटिले विद्यालयमा लगानी गरेर उत्साह थपिदिएको बताए । ‘यो कार्यको उच्च प्रसंसा गछौँ । शिक्षामा गरेको लगानीको सहिसदुपयोग गछौँ ।’ उनले भने ।
उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य अर्जुन खरेल, बुटबल उपमहानगरपालिका कमिटी उपाध्यक्ष विसाल थापा, शंकरनगर दुर्गादत्त मावि कमिटी अध्यक्ष पुर्ण रोका मगर सचिव निरुता गिरी लगायतको उपस्थिति रहेको थियो ।