ज्ञानगंगा पाठशालामा किड्स फेस्टिबल सम्पन्न

मेचीकाली संवाददाता

३ फाल्गुन २०८०, बिहीबार
324 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित ज्ञानगंगा पाठशालामा शैक्षिक महोत्सव अन्तर्गत बिहीबार किड्स फेस्टिबल सम्पन्न भएको छ । विद्यालयले आफ्नो वार्षिक उत्सवको अवसर पारेर बुधबारदेखि साताव्यापी रूपमा वृहत शैक्षिक महोत्सव सुरू गरेको छ । शैक्षिक महोत्सव अन्तर्गत किडस फेस्टिबलमा नर्सरीदेखि कक्षा २ सम्ममा ४७२ जना विद्यार्थीहरूले विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेको थिए ।
शुक्रबार कक्षा ३ देखि माथिका विद्यार्थीहरु आ–आफ्ना प्रस्तुति प्रस्तुत गर्नेछन । हरेक विद्यार्थीलाई स्टेज चढाउने र आफ्नो कला र क्षमता प्रस्फुटन गराउने अवसर विद्यार्थीहरुलाई दिँदै आएको प्राचार्य चन्द्र अधिकारीले बताए । सो अवसरमा बोल्दै एमाले नेता तथा प्रतिनिधिसभा सदस्य बाशुदेव घिमिरेले शैक्षिक गुणस्तर सुधार गर्न तल्लो तहबाटै बालबालिकाको जग बलियो हुनुपर्ने बताए । कार्यक्रममा वडा अध्यक्ष हरिबहादुर क्षेत्री, विद्यालयका सल्लाहकार गोपाल श्रेष्ठ, सञ्चालक बसन्त थापा लगायतले बोलेका थिए ।

५ गते अन्तर विद्यालय विद्यालय स्तरीय व्याडमिन्टन प्रतियोगिता र ७ वार्षिकउत्सव र मूल समारोह आयोजना गरिएको विद्यालयका शिक्षक कूलचन्द पुरीले जानकारी दिए । पछिल्लो समय विद्यालय अभिभावकको रोजाइमा परेको छ । अहिले विद्यालयमा १ हजार भन्दाबढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानको अध्यक्षता तथा विद्यार्थी प्राप्ती पराजुलीको स्वागत तथा शिक्षक डिला पाण्डे र जानकी मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।