कपिलवस्तु बस दुर्घटनाः तीव्र गति र लापरबाहीले १० यात्रुको मृत्यु, ३० जना घाइते

मेचीकाली संवाददाता

४ फाल्गुन २०८०, शुक्रबार
138 shares

बुटवल । कपिलवस्तुमा रात्रि बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति बस दुर्घटना हुँदा ३ महिला र ७ पुरुष गरी १० जनाको मृत्यु भएको हो । तीव्र गति र चालकको लापरबाहीले बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार मृत्यु हुनेमा नेपाली सेना कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका–१ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त–१६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किसन भट्ट रहेका छन् । यसैगरी रौतहट औराही नगरपालिका–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त–२ का सुदीप भट्ट र पुनरवास–९ का बिसफाटाकी विमलादेवी भट्ट रहेका छन् ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुई सय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई उपचारका लागि बुधबार राति नै बुटवल रिफर गरिएको थियो ।

पाँच जनाको स्थानीय आधारभूत अस्पतालमा उपचार भइरहेको छ । ६ जना सामान्य उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए । अन्य १० जना घाइतेको कपिलवस्तुकै सञ्जीवनी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक वलीले जानकारी दिए । मध्यरातमा दुर्घटना भएको र प्रहरीलाई राति साढे १ बजेमात्र जानकारी भएकाले घाइते र मृतकको उद्धार गरी अस्पताल पु¥याउन नै धेरै समय लागेको उनले बताए ।

सोही बसमा सवार कञ्चनपुर महेन्द्रनगरका ज्ञानेन्द्र पालले दुर्घटना हुँदा क्षण सम्झँदै भने,‘राति भएकाले अधिकांश यात्रु मस्त निद्रामा थिए । म भने निदाइसकेको थिइनँ । त्यही बेला बस ठोक्किएको ठूलो आवाज आयो र पल्टियो । सबै यात्रुहरू चिच्याउन थाले ।’ कपिलवस्तुको चन्दौटास्थित अस्पतालमा उपचार गराइरहेका पालले दुर्घटनापछि आफू उठ्नका लागि पटक–पटक प्रयास गर्दा पनि असफल भएको बताए । ‘शरीर नराम्रोसँग ठोक्किछ, अहिले पनि राम्रोसँग उठ्न नसक्ने अवस्था छ । ढाड अझै दुखिरहेको छ,’ उनले भने,‘जीवनमा पहिलोपटक ठूलो दुर्घटनाबाट बचियो । ’ उनले बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान गर्छन् ।

भीमदत्त नगरपालिका–१६ की ५५ वर्षीया यात्रु नारायणी थापा छोरीसँगै काठमाडौँ जाँदै थिइन् । ‘बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत थापाले सुनाइन् । ‘दुर्घटनापछि यात्रुहरु बचाउबचाउ भन्दै गरेको आवाज दिइरहेको सुनेपछि मैले पनि आवाज दिएँ । त्यसपछि दुई जनाले उद्धार गर्नुभयो’, उनले भनिन्, ‘रातिको समय, जङ्गल र पहाडको खोँचमा फोन पनि नलाग्ने भएकाले उद्धार तत्कालै हुन पाएन । अँध्यारोमा जो बोल्छ आवाज सुनेर उद्धारकर्ताले सुरुमा उनीहरुलाई नै उद्धार गरे जस्तो लाग्यो ।’

पेशाले मूर्तिकार काठमाडौँ कीर्तिपुरका अनिल ताण्डुकारले चालकले गियर बदल्ने बेलामा ठूलो आवाज आएको र त्यसको केही समयमै दुर्घटना भएको अनुभव सुनाए । ‘आँखा अगाडि नै धेरैको ज्यान गयो, चाहेर पनि सबैको उद्धार गर्न सकिएन,’ अनिलले भने । उनी बसको क्याबिनमा चालक नजिकैको सिटमा बसेका थिए ।

बसका चालक महेन्द्रनगरका पूर्णबहादुर चन्दले पहाडी घुम्तीमा बसको ब्रेकले काम नगरेपछि पहाडमा ठोक्कएर यात्रु बचाउन खोज्दा बस उछिट्टिएर खोलामा खसेको बताए । बुटवलको चौराहा अस्पतालमा उपचार गराइरहेका चालक चन्दका अनुसार आफूभन्दा पछाडि आएका बसका कर्मचारी र यात्रुले भालुवाङ प्रहरीलाई जानकारी गराएपछि चन्दौटा र भालुवाङबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

तीव्र गति र चालकको लापरबाहीले दुर्घटना
बस दुर्घटना हुनुमा सवारी चालकको लापरबाही देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख एसपी कृष्ण प्रसाईंले जानकारी दिए । तीव्र गति र चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण देखिएको उनी बताउँछन् ।

‘बस चार नम्बर गियरमा थियो । ओभरस्पिडका कारण चालकले बस नियन्त्रण गर्न नसकेको कुरा देखिएको छ,’ उनले भने, ‘चालक र केही घाइतेहरूसँग कुरा गरेँ । ब्रेक नलागेको भनेर चालकले बचाऊ गरेका छन् । तर प्रतिप्रश्न गर्दा जवाफ दिन सकेका छैनन् ।’ निरन्तर ओरालो झर्दा ब्रेक नलाग्ने सम्भावना पनि हुने उनी बताउँछन् तर यस घटनामा भने विश्वास गर्न सक्ने आधार नदेखिएको उनले बताए ।

सडकको अवस्था दुर्घटना हुनुको दोस्रो कारण रहेको एसपी प्रसाईंले बताए । उनका अनुसार घुम्ती र त्यसमाथि बिग्रिएको बाटोका कारण पनि दुर्घटना भएको हो । यसरी दुर्घटना भएपनि समयमै उद्धार गर्न नसक्दा धेरैको ज्यान गएको प्रहरीको विश्लेषण छ । ‘बस खसेको खोँचमा मोबाइल सम्पर्क नहुने रहेछ । साढे १२ बज्नुअघि नै दुर्घटना भएको रहेछ । तर डेढ घण्टापछि मात्रै घटनाबारे प्रहरीलाई खबर भयो । जसकारण पनि ठूलो मानवीय क्षति भयो,’ उनले भने ।

दुर्घटनापछि घाइतेले नै प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेका थिए । उक्त खबर पनि दाङ प्रहरीलाई भएको थियो । दाङ प्रहरी कार्यालयले समन्वय गरी कपिलवस्तु प्रहरीलाई खबर गरेपछि राति २ बजेतिर प्रहरी घटनास्थलमा पुगेको थियो ।

दुर्घटनामा घाइते हुनेहरुमा ओखलढुंगाका लोकबहादुर कार्की (रूद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार), कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय पूर्णबहादुर चन्द, कैलालीको बेलडाँडी नगरपालिका वडा नम्बर १ का २४ वर्षीय महेश सुनार घाइते भएका छन् ।

त्यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुशील कुँवर, गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ का २९ वर्षीय अर्जुन कार्की पनि घाइते भएका छन् । यस्तै कञ्चनपुरका भीमदत्त नगरपालिका वडा नम्बर १८ का २८ वर्षीय सन्तोष चौधरी, बसका सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १८ का ३५ वर्षीय केशव हमाल पनि घाइते भएका छन् ।
यस्तैगरी बैतडी मेनौली नगरपालिका वडा नम्बर १ का २२ वर्षीय राजेश दयाल, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १ का १८ वर्षीय नितेश सुनार घाइते रहेका छन् । गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीय मनोज विक, दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय नवीन भट्ट पनि घाइते छन् ।

यस्तै कञ्चनपुर, भीमदत्त नगरपालिका–१४ बस्ने ३३ वर्षीया गीता कुँवर र उनका १२ वर्षका छोरा नवीन कुँवर पनि घाइते भएका छन् । ओखलढुंगाका १९ वर्षीय बिसन भुजेल, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ का ३१ वर्षीय मोहनसिंह लोहार, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का ४१ वर्षीय अनील तन्डुकार पनि घाइते छन् ।

यस्तैगरी, दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ की ५४ वर्षीया नारायणी थापा, त्यही ठाउँमा २८ वर्षीय दिपेन्द्र बोहोरा, कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर १ की २७ वर्षीय रेखा आचार्य, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नबम्बर १८ की ४१ वर्षीया शान्ति सिंह, कैलाली गेरुवा गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय गणेश काफ्ले, उनकी २७ वर्षीया श्रीमती रेखा आचार्य, तीन वर्षकी छोरी श्रृष्टि काफ्ले पनि घाइते भएका छन् ।

यस्तै, भारत उत्तर प्रदेश मुद्राबासका ३५ वर्षीय मोहम्मद रिजन, सोही ठाउँका ५४ वर्षीय अनिश मनियार पनि घाइते छन् । धादिङ, सिम्लेका २५ वर्षीय कृष्ण नेपाली, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ का २० वर्षीय सुमन विष्ट, सोही नगरपालिका वडा नम्बर १ का २० वर्षीय मनोजसिंह धामी पनि घाइते छन् । कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ कै २० वर्षीय अशोक सिंह, सोही नगरपालिका वडा नम्बर ४ का ३६ वर्षीय ज्ञानेन्द्र पाल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।