पर्रोहा क्याम्पसको १३औँ क्याम्पस सभा तथा पाँचौँ अधिवेशन सुरु

मेचीकाली संवाददाता

१० फाल्गुन २०८०, बिहीबार
159 shares

सैनामैना । रुपन्देहीको सैनामैनास्थित पर्रोहा बहुमुखी क्याम्पसको १३ औँ वार्षिक क्याम्पस सभा तथा पाँचौँ अधिवेशन कार्यक्रम बिहीबारबाट सुरु भएको छ ।

पर्रोहा बहुमुखी क्याम्पसले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बताए । पछिल्लो समय यस क्याम्पसले उत्कृष्ट नतिजा दिँदै आएको समेत उनको भनाइ थियो । लुम्बिनी प्रदेश सरकार मार्फत यस क्याम्पसको शैक्षिक र भौतिक विकासका लागी आश्वयक सहयोग गर्नेसमेत प्रमुख अतिथि श्रेष्ठको भनाइ थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुशीराम चौधरीले क्याम्पसको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सैनामैना नगरपालिकामा क्रियाशील राजनीतिक दल, शिक्षाप्रेमी, समाजसेवी, तथा बुद्धिजीवी व्यक्तित्वहरूको स्थानीयस्तरमै उच्च शिक्षाको पहुँच उपलब्ध गराउने अभिलाशाले तत्कालिन पर्राेहा गाविसको आर्थिक सहयोग र पर्राेहा माविको भौतिक सहयोगमा वि.सं. २०६७ मा ‘पर्रोहा बहुमुखी क्याम्पस’ नामाकरण गरी यस क्याम्पसको स्थापना गरिएको थियो अध्यक्षको प्रतिबेदनमा उल्लेख गरिएको थियो । क्याम्पसको शैक्षिक प्रतिबेदन क्याम्पस प्रमुख हेम शर्माले प्रस्तुत गरेका थिए ।

बिगतमान २१ जना विद्यार्थीबाट बिबिएस कक्षा शुभारम्भ गरिएको यस क्याम्पसमा हाल शैक्षिक वर्ष २०८०/०८१ मा प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसहित क्याम्पसको रेकर्डअनुसार हाल करिब ३३३ जना विद्यार्थीहरु रहेको क्याम्पस प्रमुख शर्माले बताए ।
सैनामैनाको वडा नं ४ मा एघार कट्ठा एक धुर क्षेत्रफल जग्गामा रहेको पर्राेहा बहुमुखी क्याम्पसको दुईवटा भवनमा गरी २१ वटा कोठा रहेको जसमा कक्षाकोठा, कम्प्यूटर ल्याब, कार्यालय, पुस्तकालय, बिरामी कक्षलगायत सञ्चालन हँुदै आएको क्याम्पस प्रमुखको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा क्याम्पसलाई आर्थिक सहयोग गर्ने तथा अक्षयकोष स्थापनार्थ रकम प्रदान गर्ने तथा क्याम्पसलाई विभिन्न रुपमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने क्याम्पसद्वारा आयोजित खेल सप्ताह तथा विभिन्नि क्रियाकलापमा उत्कृष्टटा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा शिल्ड र मेडलसहित पुरस्कृत गरिएको थियो । क्याम्पसले वार्षिक रुपमा प्रदान गर्ने स्टुण्डेण्ट अफ दि एयरको उपाधि समीक्षा थापाले हात पार्न सफल भइन् ।
कार्यक्रममा सैनामैना नगरपालिका नगरप्रमुख फणेन्द्र प्रसाद शर्मा, उपप्रमुख बिना राना, सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की, सैनामैना नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, पर्रोहा माविका प्रधानाध्यापक बलबहादुर केसीलगायतले क्याम्पसको विषयमा बालेका थिए ।

क्याम्पस सञ्चालक समिति उपाध्यक्ष मिनप्रसाद पौडेलको स्वागत रहेको कार्यक्रममा क्याम्पसका प्राध्यापक जगन्नाथ गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।