शाइन रेसुङ्गा बैंकको पुँजी ६ अर्ब पुग्यो

मेचीकाली संवाददाता

१२ फाल्गुन २०८०, शनिबार
78 shares

बुटवल । ६ करोड लगानीबाट लुम्बिनीका तीन जिल्लालाई कार्यक्षेत्र बनाएर सुरु गरेको शाइन बैंक १६ वर्षमा ६ अर्बको पुँजी कोषसहितको राष्ट्रिय बैंक बनेको छ । बैंकले शुक्रबार एक कार्यक्रमका बिच आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । मोफसलमा केन्द्रीय कार्यालय राखेर राष्ट्रिय बैंक बन्ने शाइन रेसुङ्गा यस क्षेत्रको पहिलो विकास बैंक हो । बुटवलमा प्रधान कार्यालय भएको शाइन र गुल्मी जिल्ला कार्यक्षेत्र भएको रेसुङ्गा विकास बैंक मिलेर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो ।

शाइन रेसुङ्गा बनेपछि तत्कालीन अवस्थामा नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई आत्मसात् गर्दै अन्य तीन बैंक गाभेर शाइन रेसुङ्गा राष्ट्रियस्तरको विकास बैंक बनेको थियो । शाइन रेसुङ्गाले प्यूठान जिल्ला कार्य क्षेत्र रहेको गौमुखी विकास बैंक, तीन जिल्ला कार्य क्षेत्र रहेको पूर्णिमा विकास बैंक र पाँच जिल्ला कार्य क्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको थियो ।

शाइन रेसुङ्गाले राष्ट्र बैंकबाट २०७६ मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्ने स्वीकृति पाएको थियो ।
सो अवसरमा बोल्दै बैंकका अध्यक्ष थानेश्वर पौडेलले ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच पु¥याउने उद्देश्यले बैंकले पहाडी जिल्लामा शाखाहरु विस्तार गरेको र डिजिटल बैकिङलाई प्राथमिकता दिएर अगाडि बढेको बताए ।

बैंकमा कुनै जोखिम आउन नदिन राष्ट्र बैंकका नीति निर्देशनहरु तथा प्रचलित कानूनको पूर्ण पालना र संस्थागत सुशासनमा शुन्य सहनशिलता, प्रभावकारी आन्तरिक नियन्त्रण अपनाएको अध्यक्ष पौडेलले बताए । ‘राष्ट्र बैंकको नीतिअनुसार हामीले आफूलाई अर्थन्त्रको जिम्मेवार अंगको रुपमा मनन् गरेर सबल र सुदृढ वित्तीय संस्था बन्न मर्जरमा जानुपर्छ भन्ने निर्णयमा पुग्यौं र पार्टनर बैंकहरुको विश्वास जित्दै राष्ट्रियस्तरमा स्तरोन्नति भएका थियौं’, पौडेलले भने, ‘हामीले सुरुदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र पारदर्शितालाई अंगाल्यौं, जसले गर्दा मर्जर सफल भयो र अहिले राष्ट्रियस्तरको विकास बैंकका रुपमा पहिचान कायम गरेका छौं ।’ खबरदारीसँगै बैकिङ क्षेत्रलाई सुधार गर्न र हौसला दिनका लागि पत्रकारहरुको कलम स्वतन्त्र हुनुपर्ने अध्यक्ष पौडेलले बताए ।

लुम्बिनी प्रदेशमा मात्रै बैंकका ७२ शाखा कार्यालय छन् । संघीय राजधानी काठाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा नयाँ शाखा कार्यालय सञ्चालनमा छन् । बैंकले स्थापनाकालदेखि नै इथिकल बंैकिङको अभ्यास र आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले विकास बैंकहरुमा अग्रणी र सेवाग्राहीको रोजाइको बैंक बन्न सफल भएको नायब कार्यकारी अधिकृत लोकराज पनेरूले बताए । ८ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी भएको बैंकका देशभर ८८ शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।

यसैबिच ‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार घनश्याम गौतम र भुवन कार्की पुरस्कृत भएका छन् । आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
बैंकको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा गौतम र कार्कीलाई जनही नगद २५ हजार १ रुपैयाँसहित पुरस्कृत तथा सम्मान गरेको हो । त्यस्तै उत्कृष्ट शाखा (ग्रामीण) बाट अर्घाखाँचीको खनदह शाखा प्रमुख सरोज पोखरेल र (शहरी) क्षेत्रबाट काठमाडौं नयाँ बानेश्वर शाखा प्रमुख भुवन ढुंगेललाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको छ ।