चारपाला वनका ऐतिहासिक सम्पदा संरक्षण गर्दै पर्यटनसँग जोड्न आग्रह

मेचीकाली संवाददाता

१३ फाल्गुन २०८०, आईतवार
163 shares

बुटवल । बुटवलको चारपाला सामुदायिक वन ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण र विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले आइतबार आयोजना गरेको चारपाला खुला संग्रहालय विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरूलाई यस क्षेत्रैको नमुना वनमा रहेका पद्यमपाणिको मूर्ति, जोगिडाडाको भग्नावशेष, बाघनाथ बाबाको क्षेत्र लगायत यत्रतत्र छरिएका ऐतिहासिक र पूरातात्विक महत्वका सम्पदाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइएको हो ।

वन खुला संग्रहालय जस्तो भएको बताउँदै जाति खोज्न सक्यो, त्यति सम्पदा भटिने भन्दै यिनको पर्यटनको विकास हुनुका साथै अनुसन्धानकतालाई पनि अघि बढाउनुपर्ने बताएका छन् । वनमा माटाका भाडाका टुक्रा, पुरानो धातुका चुरा, माटाका मालाका गेडाहरु, पानी खाने कुवा, गाडधन, पद्यपाणिको मूर्तिसमेत भेटिएको छन् ।

कार्यक्रममा विश्व ओमकार एकता महाअभियान्ता तथा हिन्दू विद्यापिठ नेपालका संस्थापक डा.चिन्तामणि योगीले चारपालालगायत यस क्षेत्रका हरेक ठाउँमा एतिहास लुकेका बताउँदै तिनीहरुको संरक्षण, प्रबद्र्धन र उजागर गर्नुपर्ने बताए । वन क्षेत्रमा भएका जोगीडाँडा, सिद्धबाघनाथ बाबाधामलगायतका ठाउँमा संरक्षण गर्न सबै जाग्नुपर्ने बताए । संस्कृतिविद् राजेन्द्र आचार्यले यस क्षेत्रका सम्भावनाहरुको पहिचान र संरक्षण गर्दै पर्यटनसँग जोड्नुपर्ने बताए ।

चारपाला सामुदायिक वनका अध्यक्ष जगतनाथ शर्माले योगीडाँडा क्षेत्रमा ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरु यत्रतत्र छरिएर रहेकाले खुला संग्रहालयको रुपमा स्थापित हुनुपर्ने बताए । भारतका वरिष्ठ परातत्वविद्हरुले समेत भ्रमण गरेको यो क्षेत्रमा सरकारको ध्यान आकृष्ट गराउन नसकिएको बताउँदै उनले सरकार र स्थानीय समुदायको ध्यान पुग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा वरिष्ठ पत्रकार डीआर घिमिरेले चारपाला खुला संग्रहालयको विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि चुडामणि पौडेल र यज्ञमूर्ति भण्डारीले टिप्पणी गरेका थिए । कार्यक्रममा यो बाबा योगिराज, वनका उपाध्यक्ष रामकुमारी पौडेल, सचिव दुर्गा पाठकलगायतले बोलेका थिए ।