२५ किलो लागुऔषध चरेससहित कपिलवस्तुबाट ५ जना पक्राउ

मेचीकाली संवाददाता

१४ फाल्गुन २०८०, सोमबार
141 shares

कपिलवस्तु । कपिलवस्तु प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले २४ किलो ५ सय ६० ग्राम लागूऔषध चरेससहित ५ जनालाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ३ जना महिला र दुई पुरुष रहेका छन् ।

रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले कृष्णनगर बजार क्षेत्रबाट आइतबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ परेकी धादिङको खनियाबासकी ५९ वर्षिय सेती तामाङको साथबाट ५ किलो ५ सय ५५ ग्राम, सोही स्थानका ६६ वर्षिय रेगदोन तामाङको साथबाट ५ किलो ३ सय ६५ ग्राम, ५२ वर्षिय साङजोम तामाङनिलाई ५ किलो ४ सय ८० ग्राम, सल्यानको सिद्धकुमाख गाउँपालिका ४ का ४० बर्षिय थल बहादुर रोकाको साथबाट ४ किलो ६ सय १५ ग्राम र रुकुमको भुमे–२ घरभई दाङको लमही नगरपालिका ४ बस्ने ३७ बर्षीया भावना बुढाको साथबाट ३ किलो ५ सय ४५ ग्राम गरी जम्मा २४ किलो ५ सय ६० ग्राम लागुऔषध बरामद भएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

उनिहरूको कम्मरमा कपडाको पेटि बनाई बाँधी लुकाई छिपाई राखेका थिए । धादिङकी सेती तामाङ यसअघि धादिङ र कृष्णनगरबाट लागुऔषध चरेससहित पक्राउ परेर मुद्दा खेपिसकेकी छन्् । उनी धरौटीमा छुटेदेखी प्रहरीले निगरानी गरिरहेको थियो । पाँचै जनालाई म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।