सैनामैना । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासको मामिलामा सबै पार्टी र जनप्रतिनिधिहरू एक हुनुपर्ने बताएका छन् । रुपन्देहीको सैनामैना–१ स्थित पर्राेहा परमेश्वर नमुना मा.विको स्वर्ण जयन्तीको अवसरमा उनले सो कुरा बताएका हुन् ।
विकास कुनै व्यक्ति वा दलका लागि मात्र नभइ सबै नागरिकका लागि हुने भएकाले विकासका मामिलामा जनप्रतिनिधिहरू एक भै काम गर्नुपर्ने उनले बताए । फरक फरक भए पनि विकास भनेको सबैका लागि हुने भएकोले विभाजित नभइ एक भएर काम गर्नुभपर्ने उनको भनाई थियो । उनले थपे ‘हामी निर्वाचित भइसके पछि पाँच वर्षका लागि जनताका सेवक भएका छौं सोही अनुसर काम गर्नुपर्छ, निर्वाचनका वेला हामीले मेरो पाटी तेरो पार्टी गरौंला तर अहिले पाँच वर्षसम्म हामी हातेमालो गरेर अघि बढौं एक भएर विकासका काम गरौं ।’
पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिवद्धता समेत गरे । उनले भने, ‘जनताका विकासका अपेक्षा पूरा गर्छु ।’ रुपन्देहीको विकास नमुनाका रुपमा गरिनुपर्नेमा समेत उनले जोड दिए । जताततै वेतिथि बढेको र विकासका काम गर्न नसकेको प्रति गठबन्धन सरकारलाई निकम्मा सरकारको संज्ञा समेत दिए । बुटवल–गोरुसिङ्गे सडक निर्मामा लापरवाही गर्न नहुने बताए । उनले सैनामैनाको दिर्घकालिन विकासका लागि आफु् प्रतिवद्ध भएर काम गर्ने समेत बताए । सैनामैना पर्राेहा परमेश्वर नमुुना मावि बुटवल पश्चिम क्षेत्रमा उत्कृष्ट विद्यालयको रुपमा नमुना विद्यालयका रुपमा स्थापित भएकोमा खुसी व्यक्त समेत गरे ।
सैनामैनाको नगरपालिकामा शैक्षिक गुणस्तर सुधार भएको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले बताए । सामुदायिक विद्यालयमा अध्ययन गर्ने वातावरण बेनेको उनको भनाई छ । सैनामैनाको शैक्षिक गुणस्तर कायम गर्नका लागि आगामी दिनमा बजेट विनियोजनमा प्राथमिकता दिईने समेत उनले प्रतिवद्धता जनाए ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी, अभिभावक तथा विभिन्न राजनितिक दल, संघसंस्था, समाजसेवी चन्दादाताहरुको भूमिका महत्वपुर्ण रहेको विद्यालय व्यवास्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले बताए । विद्यालयको स्थापनाकाल देखि अहिले सम्मका गतिविधिका बारेमा र भावि योजनाका बारेमा विद्यालयका प्राचार्य नेत्रलाल पुरीले जानकारी दिए ।
विद्यालयले सैनामैना नगरपालिकाको शैक्षिक गुुणस्तर सुधार अडिटमा विभिन्न पुरस्कार जित्दै आएको छ । हाल विद्यालयमा विद्यार्थीहरुको संख्या २५०८ रहेको छ । विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाई हुने गरेको र प्लस टु तर्फ विज्ञान विषय पनि सञ्चालन गरिएको छ । वि.सं. २०३१ सालमा स्थापना भएको विद्यालयले आफ्नो ५० औं वर्ष पुरा गरेको उपलक्ष्यमा स्वर्ण जयन्ती मनाएको हो ।