एमाले बर्दियाको दशौं अधिवेशन बैशाख १४ गतेदेखि

मेचीकाली संवाददाता

१७ फाल्गुन २०८०, बिहीबार
336 shares

बर्दिया। नेकपा एमाले बर्दियाको जिल्ला अधिवेशन आगामी बैशाख १४ गतेदेखि सुरु हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटि बर्दियाको बुधबार बसेको नवौँ बैठकले जिल्लाको दसौं अधिवेशन बैशाख १४, १५ र १६ गते गर्ने निर्णय गरेको हो ।

जिल्ला कमिटीको नबौं बैठक अघि बसेको सचिवालय बैठकले अधिवेशनको मिति तय गर्दै पूर्ण बैठकमा प्रस्ताव पेश गरेको थियो । पार्टीका पोलिटब्यूरो सदस्य तथा बर्दिया इन्चार्ज लिला गिरीको प्रमुख आतिथ्यमा बसेको सचिवालय र पूर्ण बैठकले अधिवेशनको मिति तय गर्नुका साथै विभिन्न निर्णय गरेको नेकपा एमाले बर्दियाका प्रचार विभाग प्रमुख धर्मराज थापाले जानकारी दिए ।

नेकपा एमालेको बैठकले बैशाख ३ गते जिल्ला भरी प्रतिनीधि छनौट गर्ने भएको छ । प्रतिनीधि छनौट र व्यवस्थापनका काम पूरा गर्दै बैशाख १४ गते देखि अधिवेशन सुरु हुने प्रचार विभाग प्रमुख थापाको भनाइ छ । अधिवेशनमा पार्टी संगठित सदस्यहरुबाट प्रतिनिधि छनौट गरिने र सम्भवतः ८ सय भन्दा धेरै प्रतिनिधि चयन हुने प्रचार विभाग प्रमुख थापाले बताए ।

बैठकले अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमिति बनाएको छ । अधिवेशनको प्रतिनिधि छनौटको मापदण्ड र क्षेत्रको निर्णय गरीएको छ । अध्यक्ष श्रेष्ठले पार्टीले हरेक पालिका देखि नै राजनीतिक प्रतिवेदन तयार गर्ने बताए । अधिवेशनलाई भव्य सभ्य र पद्धति अनुसार सञ्चालनका लागि तोकिएको जिम्मेवारी र दायित्व सबैले बहन गर्न आग्रह गरे ।

बैठकलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज लिला गिरीले सबै जना दशांै जिल्ला अधिवेशनको तयारीमा लाग्नु पर्ने बताए । पार्टीको विधान, नीति र कार्यदिशा बमोजिम स्वच्छ, स्वस्थ र व्यवस्थित अधिवेशन सम्पन्न गर्नेगरी तयारीमा जुट्न इन्चार्ज गिरीले सबैलाई आग्रह गरे ।

अधिवेशन सफलता पुर्वक सम्पन्न गर्नका लागि सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्नका लागि निर्देशन दिएका छन् । उनले अधिवेशनलाई सकेसम्म पारदर्शि तरिकाले निश्पक्ष रुपमा सहमतिको आधारमा निर्विरोध रुपमा नेतृत्व छनौट गर्ने, यदी कार्यकर्ताको माझमा जाँउ भन्ने भयो भने हातेमालो गरेर स्वच्छ प्रतिस्पर्धामा अधिवेशन सम्पन्न गर्ने बताए ।

नेता गिरीले यथास्थीतीबादी, प्रतिक्रियाबादी र मुलुकको स्थिरीता नचाहने तत्वले अनेक बहानामा नेकपा एमालेका विरुद्ध घेराबन्दी गरिरहेको र अस्थिरता मच्याउने कोसिस गरिरहेको उल्लेख गरे । उनले भने, ‘एमालेलाई कमजोर नबनाइ मुलुकलाई कमजोर बनाउन सकिँदैन भन्दै अनेक तत्व लागेको छ र जसरीपनि भाँडभैलो निम्त्याएर भएपनि एमालेलाई घेराबन्दी गर्नुपर्नेछ भनेर देशीविदेशी तत्व लागेको छ ।’

एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय सदस्यहरु लक्ष्मण ज्ञावली, शोभा ज्ञवाली, भिम केसी, खड्कबहादुर खड्का, नेकपा एमाले निर्वाचन आयोगका सदस्य विमला वि.क., केन्द्रीय लेखा आयोगका सदस्य विजया खनाल, प्रदेश कमिटि सहसचिव लिला राना, प्रदेश कमिटीका सदस्यहरुलगायतका नेताहरुले अधिवेशनको सफलताका लागि आजैदेखि प्रभावकारी तयारी गर्नुपर्नेमा जोड दिंदै अधिवेशन ऐतिहासिक बनाउन आफुहरुले पनि भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए ।

बैठकको सञ्चालन सचिव पदम ढकालले गरेका थिए भने स्वागत उपाध्यक्ष शालिकराम अधिकारीले गरेका थिए । बैठकको उद्घाटन शत्रमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा निमन्त्रण गर्ने तयारी रहेको छ ।