निलकण्ठ बाबाधाममा जारी शक्तिशाली महायागमा बढ्दै भक्तजन

मेचीकाली संवाददाता

१८ फाल्गुन २०८०, शुक्रबार
54 shares

बुटवल । पवित्र तीर्थस्थल निलकण्ठ बाबाधाममा जारी ३ महिने शक्तिशाली महायागमा भक्तजनको उपस्थिति उल्लेख्य मात्रामा बढेको छ । बिहीबार धाम परीसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालकै इतिहासमा पहिलोपटक सञ्चालन भइरहेको ३ महिने शक्तिशाली महायागमा भक्तजनको उपस्थिति उत्साहजनक रुपमा बढ्दै गएको धामका उपाध्यक्ष चुणामणि पौडेलले बताए ।

महायागको ७५ औँ दिनसम्म आइपुग्दा भक्तजनको सहभागिता उल्लेख्य रुपमा बढ्दै गएको जानकारी गराउँदै उनले यस पवित्र धार्मीक कार्यक्रममा दर्शन गर्न छुटेका भक्तजनलाई निलकण्ठ बाबाधामा उपस्थित भई महायागमा सहभागी हुन आग्रह गरे । यहि बिचमा महा शिवरात्री पर्वसमेत परेकाले भक्तजनको उपस्थिति अझै बढ्नेउनले बताए ।

बुटवल उपमहानगरपालिका–७ दिपनगरस्थित निलकण्ठ बाबाधाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा गत पुस १ गतेदेखि सुरु भएको श्री शिवपुराण ११ अतिरुद्री अयुतचण्डी राष्ट्रकल्याण महायाग चैत ४ गते समापन हुने उनले बताए ।

देश र जनतामा सुख, शान्ति, समृद्धि र राष्ट्र कल्याण होस् भन्ने मनोकामना गरी शक्तिशाली महायाग सञ्चालन गरीएको धामका संरक्षक तथा अध्यक्ष माता देवमाया भट्टराईले बताइन् । यो महायाग अति नै शक्तिशाली अनुष्ठान भएकाले उपस्थित भई दर्शन गर्न उनले आग्रह गरिन् । निलकण्ठ बाबाधाममा दर्शन गर्नाले सम्पुर्ण पापहरु नाश भई मनोकामना पूरा हुने उनले बताइन् ।

महायागमा यज्ञआचार्य डा.राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी वशिष्ठलगायत १२१ जना ब्राह्मणहरुको सहभागिता रहेको छ । यज्ञआचार्य डा.रेग्मीले देश र जनता तथा सम्पुर्ण प्राणी जगतमा सुख शान्ति तथा समृद्धी छाउने आशा व्यक्त गर्दै निलकण्ठ बाबाधाममा सञ्चालित महायागमा सशभागी हुन आग्रह गरे । यस्तो शक्तिशाली महायाग नेपालकै इतिहासमा पहिलोपटक भएको उनले बताए ।

अहिले दैनिक अतिरुद्री, देविभागवत, शिवपुराण, गणेशपुराण, सूर्यपुराण, विष्णुपुराण, चारै वेद पाठ, अयुतचण्डी तथा हवन, दैनिक ३ पटक आरती गरिँदै आएको छ । ११ अतिरुद्री शान्ति अभिषेक (बिहान, दिउँसो र साँझ) तुलादान, चौरासी पूजन, लक्ष्यवत्ती प्रज्वलन, धनधान्याञ्चल तथा तण्डुलाचन हुने उनले बताए ।

यज्ञ सम्पादन मूल समितिले प्रचारप्रसारलाई थप तीव्र बनाएको जनाएको छ । यस धाममा वर्षको ३६५ दिननै रुद्री तथा दिनको ३ पटक (बिहान, मध्यान्ह, साँझ) आरती हुने गरेको छ । महायागको २१ औं दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहलेसमेत धाममा पुगेर दर्शन गरि पूजाआराधना गरेका थिए । चैत ४ गते महायागको पुर्णाहुती तथा तिलक प्रसाद वितरण र महायाग समापन हुने कार्यक्रम राखिएको छ ।

निलकण्ठ बाबाधाममा २०६१ साल बैशाख ४ गते शिलान्यास भई २०६२ सालको महाशिवरात्रिमा मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो । त्यसपछि यहाँ विविध अनुष्ठान हुँदै आएका छन् । २०६४ सालदेखि गुरूकुलको अवधारणाअनुरूप गुरुकुल विद्याश्रम सञ्चालन भएको छ । धाम क्षेत्रमा बोलबम मन्दिर, सन्ताषी माताको मन्दिर, गुहेश्वरी मन्दिर, अन्नपूर्ण मन्दिर, हवन कुण्ड, यज्ञ मण्डप, गुरुकुल भवन, तण्डुलाचल, धान्याञ्चल, गौशाला, आश्रम, भोजनालयलगायतका संरचना निर्माण गरिएको छ ।