बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठक पाँच मिनेट मात्र बसेर स्थगित भएको छ । बैठक संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि पाँच महिनापछि बसेको तेस्रो अधिवेशनको पहिलो बैठक ५ मिनेट १७ सेकेन्ड मात्र बसेर स्थगित भएको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय दलको तर्फबाट बोल्ने कार्यक्रमपछि राख्ने सहमति भएपछि पहिलो बैठकको समय छोटो भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । दोस्रो बैठक शनिबार दिउँसो २ बजे बस्नेछ । दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र र मन्त्रिपरिषद्मा कार्यविभाजन हेरफेरसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकहरुको बारेमा पत्रहरु प्राप्त भएको र त्यसबारे सभामा जानकारी गराउनुभएको थियो ।
एमालेले गरायो सरकारको ध्यानाकर्षण
यसैबिच नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले वर्तमान गठबन्धन सरकारले विवादित र अदूरदर्शी निर्णय गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।
शुक्रबार दलको कार्यालयमा बसेको बैठकले सरकारको ध्यानाकर्षण गराउँदै विगतका सहमतिको कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ । दलका नेता तथा प्रमुख प्रतिपक्षी दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले विवादित र अदूरदर्शी काम गरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको आयोजनामा रुपन्देहीको लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लौरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ विवादित भएको भन्दै एमालेले ध्यानाकर्षण गराएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताउनुभयो ।
दलको बैठकमा सांसदहरुले बजेटको विनियोजन, कार्यान्वयनदेखि प्रमुख प्रतिपक्षी दलसँग भएको सहमतिको कार्यान्वयनमा वर्तमान सरकारले उदासिनता देखाएको भन्दै दलका तर्फबाट कडा जवाफ माग्नुपर्नेमा जोड दिएका थिए । सांसदहरुले सरकारको कार्यशैली, बजेटको कार्यान्वयन, संसदीय समितिहरुको नेतृत्वदेखि विदेश भ्रमणका विषयहरुलाई समेत उठाएका थिए ।
एमालेको दलको बैठकमा सांसदहरुलाई व्यवस्थित र तथ्यपूर्ण तरिकाले विषयवस्तु उठान गर्न, सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न, विषय केन्द्रित रहेर आफ्ना विचार प्रस्तुत गर्न दलका नेताले निर्देशन दिएका छन् । सरकारलाई प्रमुख प्रतिपक्षी दलले रचनात्मक सहयोग गरेको, सहकार्य गरेको र सालिनता प्रदर्शन गरिरहेका बेलामा सरकारले भने मनपरी र विवादास्पद ढंगले अगाडि बढेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराउनेलगायतका विषयमा दलको बैठकमा छलफल भएको प्रमुख सचेतक चौधरीले बताउनुभयो ।