पर्यटन प्रवद्र्धन गर्दै कोईलीचौर सामुदायिक वन

मेचीकाली संवाददाता

१९ फाल्गुन २०८०, शनिबार
164 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिका–९ भर्तापुर (भर्लावास) स्थित कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले नमूना कामको थालनी गरेको छ ।

वन क्षेत्रको अतिक्रमण रोक्न र अतिक्रमणलाई हटाई रमणिय पार्क स्थलको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने र डुंगा सञ्चालन, माछापालन गर्न खोला खोल्सी व्यवस्थापनको काम अघि बढाएको वनका अध्यक्ष कुन्तामणि भुसालले जानकारी दिए । यहि फागुन ७ गतेदेखि अतिक्रमणलाई हटाई व्यवस्थापनको काम सुरु भएको हो । वन क्षेत्रमा यहाँका बस्तीहरुले अतिक्रमण गर्दै आएका थिए ।

सामुदायिक वनले गरेको नमूना कामबाट भावि सन्ततीहरुका लागि केही आयआर्जज होस् साथै युवाहरु आफ्नै देशमा स्वरोजगार बन्न सकुन भन्ने उद्देश्यले यो काम सुरु भएको अध्यक्ष भुसालले बताए । डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले अनुगमन समेत गरेको उनले बताए ।

२४ औं वार्षिक साधारणसभाबाट अतिक्रमण हटाउने, खोला खोल्सी व्यवस्थापन गर्ने, पोखरी निर्माण गर्ने, यस क्षेत्रलाई धार्मिक स्थल निर्माणका लागि १ सय १ वटा पिपलको विरुवा लगाउने लगायतका बिभिन्न निर्णय समितीले गरेको थियो । एक वर्ष भित्रमा डुंगा सञ्चालन गर्ने, पिकनिक स्थल र रमणिय पार्क निर्माण गर्ने योजना बनाएको अध्यक्ष भुसालले बताए ।

पोखरी निर्माणको लागि वनको वार्षिक साधारण सभाबाट रु. १० लाख रुपैंया विनियोन गरिएको थियो । यसैगरी खोला खोल्सी व्यवस्थापनका लागि दुई ठाउँ व्यवस्थापन गर्ने निर्णय भए अनुसार एउटा वन कार्यालयको नजिक र अर्को खोलाको नजिक खोला खोल्सी व्यवस्थापनको लागि लुम्बिनी प्रदेश कार्यालयबाट रु. २६ लाख ४८ हजार ६ सय ६६ रुपैंया ५० पैसा फागुन १६ गते सम्झौता गरिएको कोषाध्यक्ष माधुरी सेन वलिले बताइन ।

कोईलीचौर साना किसान सामुदायिक बन उपभोक्ता समूहमा ४ सय ८० घरधुरी रहेका छन् । खहरे, खोल्सा खोल्सी गरी २ सय १८ हेक्टर क्षेत्रफल वन क्षेत्र फैलिएको छ । नयाँ कामको थालनी भएसँगै उपभोक्ताहरु उत्साहित भएको उपभोक्ता समूहका सचिव सुस्मा क्षेत्रीले बताइन् ।