हाम्रो जागृति सगरमाथा सहकारीले मनायो चौथो स्थापना दिवस

मेचीकाली संवाददाता

२० फाल्गुन २०८०, आईतवार
152 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटीस्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौथो स्थापना दिवस मनाएको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षता, तिलोत्तमा–२ का अध्यक्ष डिलबहादुर भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष पाण्डेले शेयर सदस्यको शेयर तथा बचत रकम हिनामिना हुन नदिई संस्थाको उद्देश्य प्राप्तिको लागि संस्था र शेयर सदस्यहरुको हक र हितमा खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनले सरहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष रक्तदान, स्वास्थ्य शिविर, सम्मान, वृक्षरोपणलगायतका सामाजिक कामहरु गर्दै आइरहेको बताए । स्थापना दिवसको अबसरमा ७० वर्ष उमेर पुगेका ३५ जना ज्येष्ठ नागरिक शेयर सदस्य तथा शेयर सदस्यहरुका बुआआमाहरुलाई सम्मानसमेत गरिएको थियो । साथै सुगर परीक्षण शिविरसमेत सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्वअध्यक्ष यादवनाथ आचार्य, पूर्वअध्यक्ष/जिल्ला प्रतिनिधि बेलप्रसाद शर्मा, शेयर सदस्य देविप्रसाद भर्तेल, वडा नम्बर २ का जनप्रतिनिधि सावित्रा पन्थी आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति सदस्य, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष होमप्रसाद शर्माको स्वागत तथा सचिव तोलाकान्त डुम्रेको सञ्चालनमा कार्यक्रम भएको थियो ।