सडक बालबालिकारहित शहर बनाउन सबैको सहकार्य जरुरी

मेचीकाली संवाददाता

२१ फाल्गुन २०८०, सोमबार
740 shares

बुटवल । बुटवललाई सडक बालबालिकारहित बनाउने सबैको सहकार्य जरुरी रहेको एक छलफल कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

सिर्जनशील संस्था नेपाल (सीन) ले सोमबार बुटवलमा आयोजना गरेको सडक बालबालिकाको उद्दार, व्यवस्थापन र अल्पकालीन सेवा र सम्प्रेषण संयन्त्रको आवश्यकता सरोकारवालाको भूमिका विषय छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवल सहरलाई सडक बालबालिका रहित बनाउन स्थानीय सरकारको संकल्प र सबैको अभियान आवश्यक रहेको बताए । पछिल्लो समय बुटवलका सडकहरुमा सडक बालबालिकाको संख्या डरलाग्दो गरी बढेको पाइएको भन्दै सरोकारवाला चिन्तित छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सुकुम्बासी समस्या बढी भएको क्षेत्रमा सडक बालबालिका बढिरहेको बताए । ‘हामी यो समस्या न्यूनीकरणका लागि लागेका छौँ,’ मेयर पाण्डेयले भने, ‘पहिलो कुरा अभिभावक सक्रिय हुन जरुरी छ । सडक बालबालिका शून्य बनाउने हाम्रो योजना छ । त्यसमा सबैको साथ र सहकार्य जरुरी छ ।’ कानुनी प्रक्रियाको झन्झटका कारण पनि प्रक्रियामा ल्याउन समस्या भएको मेयर पाण्डेयको भनाइ छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले वर्तमान सडक बालबालिकाको सवालप्रति तिलोत्तमा पनि चिन्तित रहेको बताइन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले सडक बालबालिका सहरमा समस्याका रुपमा देखिएको बताए ।

कार्यक्रममा सीनका संस्थापक अध्यक्ष प्रतिमा शर्माले संस्थाले अहिले सम्म २१८ जनालाई सेवा दिएको डाटा प्रस्तुत गरिन् । जसमध्ये १३७ जना सडक बालबालिकालाई पुनर्मिलनसमेत गराएको बताइन् । कार्यक्रममा नेपाल अभिनास अनाथ आश्रम तिलोत्तमाका अध्यक्ष कृष्ण ज्ञवालीलगायतले बोलेका थिए । सीनकी अध्यक्ष विजया पाण्डेको अध्यक्षता तथा महासचिव कल्पना ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।