सातौं नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता भोलिदेखि

मेचीकाली संवाददाता

२१ फाल्गुन २०८०, सोमबार
674 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको आयोजनामा सातौं नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि शुरु हुँदैछ । राष्ट्रको लागि खेलकुद देशको लागि खेलकुद भन्ने नारासहित नगर स्तरीय मेयर कप क्रिकेट हुन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।

कपिलवस्तु नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममा नगरको खेलकुद नीतिको मूलमर्म र भावनाअनुरुप यस क्षेत्रको खेलकुदको समुचित विकास र बिस्तारका लागि खेल संचालन गरिने भएको हो । नव प्रतिभाहरुको खोजि पहिचान एवं संरक्षणको लागि क्रिकेट खेल प्रतियोगिताको आयोजना गरिएको कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले बताए । खेलबाट राष्ट्र निर्माण र बिकासमा खेलाडीहरुको सकारात्मक भूमिकालाई सवल, सक्षम र प्रभावकारी बनाउन स्थानीय स्तरमै विभिन्न खेलकुद प्रतियोगिता संचालन गरी उत्कृष्ट, अनुसाशित र सभ्य खेलाडीहरु तयार पार्ने, भबिष्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भई नगरको छवि उच्च बनाउन योगदान पुराउन सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको मेयर पौडेलले बताए ।

प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । खेलहरुमा क्रिकेट खेल टी–२०, नक आउट खेलाडीहरुको प्रोतसाहनका लागि प्रत्येक टिमलाई किड्स र जर्सी प्रदान गरिने छ । खेलमा प्रथम हुनेलाई नगर रु.५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र र द्वितीय हुनेले नगद रु.३० हजारसहित मेडल , ट्रफी र प्रमाणपत्र पाउने खेल संचालन तथा ब्यवस्थापन समितिका संयोजक तथा कपिलबस्तु नगरपालिका वडा ५ का वडा अध्यक्ष दिरेपकुमार चौधरीले बताए ।

कपिलवस्तु नगरपालिका वडा ५ का अध्यक्ष, खेल सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक चौधरीले खेलको तयारी पूरा भएको बताए । प्रतियोगितामा पहिलो खेल बिहान ७ बजे र दिनको खेल १ बजे देखि दोस्रो खेल शुरु हुने छ । खेल सञ्चालन समितीमा मोहम्मद जाहिद खाँ , अशोककुमार गुप्ता, रुद्रबहादुर गैरे (प्रकाश) सदस्य र सदस्य सचिव युवराज भुसाल रहेको खेल समितिका संयोजक चौधरीले बताए । खेल बुद्ध पद्य माध्यमिक बिधालयको खेलमैदान तौलिहवामा हुने छ । खेलमा कपिलवस्तु नगरपालिकाको १२ वटै वडाका १२ टीम खेलाडीहरु हुने छन् । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याललगायतको उपस्थिति रहेको थियो ।