कञ्चनमा ‘कपडा बैंक’ सञ्चालन

मेचीकाली संवाददाता

२२ फाल्गुन २०८०, मंगलवार
700 shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा कपडा बैंक (क्लोथ बैंक) सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम लगायतले कपडा बैंकको उद्घाटन गरे । क्लोथ एण्ड फूड बैंक नेपालले कञ्चन गाउँपालिका र जेसीआई कञ्चनको सहकार्यका कपडा बैंक स्थापना गरेको हो ।

सोही अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष ढकालले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पुण्य कार्यमा जोडिन सबैलाई आग्रह गरे । कपडा बैंकमा जम्मा हुने कपडाले दुखी र विपन्न वर्गहरुलाई न्यानो प्रदान गर्न सकिने उनले बताए । समाज परिर्वतनका लागि युवाले सुरु गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु संलग्न हुन पाउँदा र क्लोथ बैंक सञ्चालनमा कञ्चन गाउँपालिका देशमै पहिलो गाउँपालिका बनेकोमा खुसी व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष मगरले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह गरीन् । विपन्न तथा गरिव वर्गको हितका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उनले यसलाई निरन्तरता दिन पालिकाले आफ्नो जिम्वेवारी पुरा गर्ने प्रतिबद्धता जनाइन् ।

केही दिन अघि मात्र कञ्चन गाउँपालिका र क्लोथ एण्ड फूड बैंक नेपालबिच क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको थियो । सम्झौता पछि मंगलबार औपचारिक रुपमा क्लोथ बैक सञ्चालनमा आएको हो । क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न उनले आव्हान गरे । मानव सेवाका लागि पुरानो कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ नितान्त सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिन समेत उनले आग्रह गरे ।

प्रयोगमा नआएका पुराना लत्ता कपडा संकलनका लागि कञ्चनका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरुलाई पुनः प्रशोधन रि–साइकल गरि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने अध्यक्ष जिसीले बताए । उनले गाउँपालिकासँग समन्वय गरी नयाँ शैक्षिक सत्र सुरु हुने बेलामा विपन्न विद्यार्थीहरुलाई झोला र ड्रेस उपलब्ध गराउने बताए ।क्लोथ बैंकका अध्यक्ष जिसीले आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ देखि देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको बताए ।

कञ्चन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले देशमा केही नयाँ परीवर्तन गर्नका लागि युवाशक्ती एकजुट हुनुपर्ने बताए । आफु पनि यो अभियानमा जोडीन पाएको खुसी व्यक्त गरे । जेसीआई कञ्चनका अध्यक्ष धनपति ज्ञवाली (सन्देश)ले फूड एण्ड क्लोथ बैंक नेपालले जेसीआई नेपालका १७८ स्थानीय शाखा मध्ये जेसीआई कञ्चनलाई छनोट गरी सहकार्य गर्ने अवसर प्रदान गरेको धन्यवाद व्यक्त गरे । जेसीआईको आस्था ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ लाई आत्मसात गर्दै यो अभियानमा सदैव हातेमालो गर्ने प्रतिबद्धता जनाए ।

केही दिन अघि मात्र रुपन्देहीको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ भएको थियो । काठमाडौंको टोखा नगरपालिकामा पनि कपडा बैंक सञ्चालनमा आइसकेको छ । क्लोथ बैंकका अध्यक्ष जिसीका अनुसार अहिलेसम्म १५४ वटा स्थानीय तह यो अभियानमा जोडिएका छन् । कार्यक्रम दिप्लव क्षेत्रीको स्वागत तथा सञ्चारकर्मी आबिस्कार खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।