नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिताको सुरु

मेचीकाली संवाददाता

२२ फाल्गुन २०८०, मंगलवार
73 shares

कपिलवसतु । कपिलवस्तु नगरपालिकामा सातौं नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बेलुन उडाएर प्रतियोगिताको उद्घाटन गरे । सोही अवसरमा बोल्दै पाण्डेयले खेल शिक्षासंग जोडिएको हुँदा खेलले नगर, जिल्ला, प्रदेश र देशलाई चिनाउने बताए । खेलकुद प्रतियोगिताले शारीरिक र मानसिक विकास हुनुका साथै खेलाडीहरुले आफ्नो प्रतिभालाई देखाउन सक्ने बताए ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले गाउँघरमा लुकेर बसेका प्रतिभाहरुलाई खोजी गर्न र क्रिकेट खेलाडीको क्षमता विकासको लागि प्रतियोगिताको आयोजना गरिएको बताए । पौडेलले खेलाडीहरुले आफ्नो प्रतिभालाई राम्रोसंग देखाउन सके आगामी दिनमा प्रदेशस्तरीय, राष्ट्रको लागि र अन्तर्राष्ट्रिय स्तरमा समेत खेल प्रतिभा देखाउन सकिने भएको हुँदा प्रतिभालाई समाजको सामु ल्याउनको लागि कपिलवस्तु नगरपालिकाले प्रत्येक वर्ष मेयर कप संचालन गर्दै आएको बताए । फागुन २२ गतेदेखि सुरु भएको खेल फागुन २८ गते सम्म सञ्चालन हुने उनले बताए ।

यस्तै कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव हरिप्रसाद ज्ञवालीले स्थानिय स्तरमा रहेको नवीन प्रतिभाहरुको खोजी गर्ने, सक्षम र अनुशासित खेलाडीहरुको पहिचान गर्ने र खेलप्रति सकारात्मक सोंचको बिकास गरी जनस्तरसम्म खेल जागरण अभियानको रुपमा लैजाने उद्देश्यले कपिलवस्तु नगरपालिकाले हरेक वर्ष विभिन्न खेलकुद कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदको प्रतियोगितामा सहभागि भई यस नगरको उच्च छवि बनाउन योगदान पुराउन सक्ने खेलाडीहरु उत्पादन गर्न सक्ने उद्देश्यका साथ कपिलवस्तु नगरपालिकाले बिभिन्न खेलकुदका कार्यक्रमहरु संचालन गर्दै आएको ज्ञवालीले बताए ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममा नगरको खेलकुद नीतिको मूलमर्म र भावनाअनुरुप यस क्षेत्रको खेलकुदको समुचित बिकास र बिस्तारका लागि खेलको आयोजना गरिएको हो ।
खेलाडीहरूलाई प्रोत्साहित गर्न नगरपालिकाको १२ वडाका १२ टिमलाई किट्स र जर्सीसहित खेल सामग्री प्रदान गरिएको खेल सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक दिरेपकुमार चौधरीले बताए । खेलमा प्रथम हुनेलाई नगर रु.५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र र द्वितीय हुनेले नगद रु.३० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने ने छ ।

कार्यक्रममा कपिलवस्तु नगरपालिका १२ वटै वडाका वडाध्यक्षहरू, कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेल, सशस्त्र प्रहरी प्रहरी प्रमुख, सञ्चारकर्मीलगायतको सहभागिता थियो । सातौँ नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो खेल बिहान ७ बजे र दिनको खेल १ बजे देखि दोस्रो खेल शुरु हुने छ । खेल फागुन २८ गतेसम्म चल्ने छ । कार्यक्रम शिक्षा अधिकृत युवराज भुसालको संचालनमा सम्पन्न भएको थियो ।