कुँवरवर्तीमा विद्यार्थीलाई विषय छनौट सम्बन्धी अभिमूखीकरण

मेचीकाली संवाददाता

७ भाद्र २०७८, सोमबार
978 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा–८ मा अवस्थित कुंवरवर्ती इङ्गलिस बोर्डिङ स्कूलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका एक दिने अभिमूखिकरण गरेको छ । विद्यार्थीहरुलाई विषय छनोट तथा प्रभावकारी अध्ययनका बारेमा जानकारी गराउने उद्देश्यले जानकारीमूलक अभिमुखिकरण गरिएको विद्यालयले जनाएको छ ।

कक्षा ११ मा भर्ना भएका १५० बढी विद्यार्थीहरुलाई सहभागि गराई आयोजना गरिएको अभिमुखिकरणमा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरदेवि चौधरीले उत्कृष्ट नतिजा हासिल गर्नका लागि विद्यालय तथा विद्यार्थीहरुले पनि मेहन गर्न आवश्यक गरेको बताइन् ।

विगतमा विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त रुपमा हुने खेलकूद लगायतका प्रतियोगिताहरुमा समेत उत्कृष्ट नतिजा निकाल्न सकेको बताउँदै उनले थप सफलताका लागि अझ मेहनत गरेर लाग्न आग्रह गरीन् । तिलोत्ताको शैक्षिक विकासका लागि सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयहरुलाई पनि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उनले बताइन् ।

कार्यक्रममा बोल्दै रुपन्देहीका शिक्षा विकास तथा समन्वय इकाई समितिका प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीहरुलाई आफूलाई अब्बल लागेका र रुचि अनुसार विषय छनोट गर्न आग्रह गरे । कोरोना महामारीले भौतिक उपस्थिती गराई शैक्षिक कार्यक्रम सञ्चालन गर्न समस्या भइरहेका बेला सकेसम्म अनलाइन शिक्षालाई विद्यालयले जोड दिनु पर्ने उनको सुझाब छ ।

विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन र सहजीकरणमा विद्यालयले भूमिका निभाउनु पर्ने उनले बताए । विद्यालयमा व्यवस्था, शिक्षा तथा कानून संकायमा अध्यापन हुँदै आएको छ । १ हजार ५ सय बढी विद्यार्थी रहेको कुवरवर्ती विद्यालयमा कक्षा ११ लागि नियमित अध्ययन गर्दै आएका ४० जना विद्यार्थी र अन्य विद्यालयबाट आएका ११० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षक युवराज रिमालले जानकारी दिए ।

अभिमूखिकरण कार्यक्रममा विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयका प्राचार्य दिपक खनालले सबैको साथ र सहयोगबाट अघि बढेरनै विद्यालयले सफलता प्राप्त गर्न सकेको बताए । विद्यायप्रति अभिभावक तथा विद्यार्थीहरुको विश्वास भएकै कारण अघि बढ्न सफल भएको उनले बताए ।

कार्यक्रमा बोल्दै तिलोत्तमा–८ का अध्यक्ष कृष्ण पौडेल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खनाल, समाजसेवी केशव अर्याल तथा हिमालयन रोडिज सिजन–३ का विजेता सुजन सुवेदीलाई विद्यार्थीहरुलाई शैक्षिक सफलताका लागि शुभकामना व्यक्त गरे ।

विद्यालयका शिक्षक तथा अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई विषय छनोट, प्रभावकारी सिकाई र भविष्यका लागि अध्ययनबाट योजना निर्माण सम्बन्धि अभिमूखिकरण गरिएको थियो ।