कपिलवस्तुमा पनि मनाईयो गाईजात्रा

मेचीकाली संवाददाता

७ भाद्र २०७८, सोमबार
573 shares

पार्बती आचार्य
कपिलवस्तु । कपिलवस्तु सहित देशभर आज नेवार समुदायले गाईजात्रा मनाएका छन् । कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको गाईजात्रा यसपालि स्वास्थ्य सुरक्षाका बीच छोट्याएर मनाइएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर जीतपुर चोकसहित तौलिहवामा नाचगान गरेर गाईजात्रा मनाइएको हो । वर्षभरि नेवार समुदायमा दिवङ्गत भएकाहरूको घर–घरबाट मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्झना स्वरूप गाईजात्रा निकाल्ने प्रचलन रहेको गाईजात्रामा सहभागीले बताए ।

त्यस्तै तौलिहवामा विगत १८ वर्ष देखी गाइजात्रा पर्व मनाउदै आएको यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले यस वर्ष पनि गाईजात्रा पर्व मनाएको छन् । राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि भाव विह्वल भएकि रानीलाई मनाउन यस प्रकारको जात्रा निकाल्ने प्रचलन सुरु गरेको किंवदन्ती छ । त्यस बेलादेखि निरन्तर दाङमा गाईजात्रा निकाल्ने परम्परा रहेको जात्रामा सहभागिहरुले बताएका थिए ।

चारनम्बर चोकमा डोको र बाँसबाट मानव आकृति निर्माण गरी मादल, बाँसुरी र मुजुराको तालमा नाच्दै बजार परिक्रमा गरिएको थियो । त्यस्तै बाजा र डोको सँगै लठ्ठी ठटाउँदै फेटा, धोती र छड्के लगाएर सिँगारिएका युवाहरू नाचेका थिए । जसलाई नेवार समुदायले यसलाई बैरागी भन्ने गर्छन् । गाईजात्रामा नाचिने यस नाचलाई बैरागी नाच वा डोके नाच पनि भन्ने गरिन्छ ।

यो पर्व ठाउँअनुसार फरक–फरक ढङ्गले मनाउने गरिएको छ । गाईजात्रा हेर्न चोकमा गाँउ–गाउँबाट मानिसहरु आएका थिए । पछिल्लो समय युवा पुस्ता अध्ययन र कामको सिलसिलामा जिल्लाबाहिर जाने भएकाले पनि चासो नदिँदा कतै नेवारी संस्कृति र परम्परा लोप हुने आशङ्का पनि उब्जाएको जेष्ठनागरिकहरू बताउँछन् ।