सुस्मिताको न्यायका लागि संघर्स समिती गठन

मेचीकाली संवाददाता

२९ फाल्गुन २०८०, मंगलवार
400 shares

कपिलवस्तु । २०७७ सालमा हेटौंडामा छोरी सुस्मिता केसीको हत्यामा मुख्य योजनाकार भनिएका दुई जनालाई उच्च अदालतले सफाई दिएपछि उनको माइती परिवार पुन आन्दोलनमा उत्रिएको छ ।

लामो संघर्स पछि जिल्ला अदालतले हत्याराहरुलाई कानुनी दायरामा ल्याएको भएपनि उच्च अदालतले मुख्य योजनाकार अरुण कार्की र दुर्गा थापा कार्कीलाई नै छुटाएको भन्दै आन्दोलनमा उत्रिएका हुन ।

जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले उल्ट्याउँदै मुख्य योजनाकार भनिएका दुई जनालाई सफाई दिएपछि सुस्मिताको परिवार र आफन्तले पुन उनका हत्यारा र योजनाकारले जन्म कैद सजाय पाउनुपर्ने भन्दै माग गरेका छन ।

छोरीको न्यायको लागि लड्दालड्दै धेरै गलिसकेको उनकी आमाले बताएकी छन । सोमबार न्यायको लागि संघर्स समिति गठन तथा पत्रकार सम्मेलनमा बोल्दै उनले गलेको भएपनि नथाकेको बताइन ।

छोरीका हत्यारालाई जिल्ला अदालतले कानुनी दायरामा ल्याएको भएपनि उच्च अदालत भने आर्थिक प्रलोभनमा परेर छुटाएको हुनसक्ने उनकी आमाले आरोप लगाएकी छन । उच्च अदालतको फैसला विरुद्ध आफुहरु अब सर्वोच्च अदालत जाने तयारी गरेको उनले बताइन ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले दोषीले सजाय पाउनुपर्ने बताए । पछिल्लो समय धेरै युवती तथा महिलाहरु बलात्कार तथा हत्याको शिकार भैरहेको भन्दै त्यस्तो कार्यलाई निरुत्साहित गर्न पनि दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धुर्व रायमाझी, पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्वासे, नेपाल स्वयमसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेल, महिला अधिकारकर्मी दिना सुवेदी लगायतले बोल्दै सबैले आआफ्नो ठाउँबाट केसीको न्यायको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमबाट अम्बिका पौडेलको संयोजकत्वमा ११ सदस्यीय संर्घस समिति समेत गठन गरिएको छ । जसको सह संयोजकमा इन्दिरा पन्त, सदस्य सचिवमा जमुना सापकोटा र सदस्यहरुमा गीता भुषाल, शुसिला गैरे, मीना पौडेल, नारायण पौडेल, खिमानन्द पौडेल, विष्णु पौडेल, विमला श्रेष्ठ र गिता पौडेल रहेका छन् ।

त्यस्तै सल्लाहकार सदस्यहरुमा नारायण भुषाल, खेमराज पौडेल, देवकला सुवेदी, ध्रुव रायमाझी, बालकुमारी पन्त, गणेश क्षेत्री रहेका छन् ।

गत २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित घरमा केसीको हत्या गरिएको थियो । घटना भएको भोलि पल्ट मात्र हत्या गरिएको अवस्थामा केसीको शव फेला परेको थियो । केसीको हत्यापछि ससुरा प्रकाश, नन्द सीता, सासुले आत्महत्या देखाउने प्रयास गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो । प्रहरीका अनुसार उक्त घटनामा केसीकी जेठी नन्द दुर्गा र ज्वाइँ अरुणको संलग्नता देखिएको थियो ।

कपिलवस्तुको बाणगंगा माइती घर भएकी केसीको २०७६ वैशाख १८ गते प्रकाशका छोरा रुपेन्द्र थापासँग विवाह भएको थियो । विवाह गरेको छ महिनामा नै रुपेन्द्रको मृत्यु भएपछि बिमा बापतको रकमका लागि केसीको हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।