पर्रोहा परमेश्वर माविमा थपिँदै भौतिक संरचना

मेचीकाली संवाददाता

८ चैत्र २०८०, बिहीबार
118 shares

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–१, रानीबगैँचास्थित पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयको नयाँ बन्ने भवनको बुधवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । विद्यालयमा निर्माण हुने भवनको बुधवार लुम्बिनी प्रदेशका पूर्वमुख्य मन्त्री तथा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले शिलान्यास गरेका थिए । भवनको शिलान्यास भएसँगै निर्माण कार्य सुरु भएको विद्यालयले जनाएको छ ।

भवन शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वमुख्यमन्त्री लिला गिरीले विद्यालय भन्नेबित्तिकै विद्यार्थीका पढाइका कुरा हुने र पढाइ पनि स्तरीय पढाइ हुने र समयअनुसारको प्राविधिक शिक्षा र आवश्यकताअनुसारका जनशक्ति तयार गर्ने विषय पनि जोडिने बताए । शैक्षिक अवस्थालाई हेर्दा निजी क्षेत्रले धेरै ओगटेको र सार्वजनिक क्षेत्रले पढाइको स्तर कमजोर भएको टिका टिप्पणी भएको बेला अहिले केही सार्वजनिक क्षेत्रले निजी क्षेत्रलाई उछिनेको पर्रोहा परमेश्वर माध्यमिक विद्यालय पनि यस्तै संस्थाअन्तर्गत पर्ने बताए ।

सैनामैना नमुना माविले समयअनुसारको गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको समेत गिरीको भनाइ थियो । विद्यालयले पछिल्लो समय शैक्षिक तथा भौतिक गुणस्तरमा ध्यान दिँदै आएको र अब बन्ने भवनले यस विद्यालयमा थप ऊर्जा प्रदान गर्ने सैनामैना माविका सल्लाहकार संयोजक खुशीराम चौधरीले बताए ।
विद्यालयको नौकोठे भवन करिब एक करोड रुपियाँको लागतमा निर्माण हुन लागेको । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले जानकारी गराए ।

भवन निर्माण समितिमार्फत निर्माण हुन लागेको र २०८१ जेठ मसान्तसम्म भवन निमार्णकार्य सम्पन्न हुने विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले बताए । टीकाबहादुर थापाको संयोजकत्वमा भवन निर्माण समिति बनेको विद्यालयले जनाएको छ । भवन शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, स्थानीय समाजसेवी, शिक्षक शिक्षिका, विद्यार्थीलगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।