रुपन्देहीमा विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाइँदै

मेचीकाली संवाददाता

८ चैत्र २०८०, बिहीबार
233 shares

बुटवल । रुपन्देहीमा ६७ औँ राष्ट्रिय सहकारी दिवस सप्ताहब्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति रुपन्देहीले बिहीबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो ।

६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिले यही चैत २० गते रुपन्देहीको भैरहवामा मूल समारोहको आयोजना गरेको छ । दिवसमा जिल्ला सहकारी संघ लिमिटेड, विषयगत जिल्ला सहकारी संघहरु, पालिका सहकारी सञ्जाल तथा प्रारम्भिक सहकारी संस्थाहरुले जिल्लाभर विभिन्न ६१ वटा कार्यक्रम गर्ने तयारी गरेको जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष तथा मूल समारोह समिति रुपन्देहीका संयोजक भिमप्रसाद तुलाचनले जानकारी दिए । यो वर्ष ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारा तय गरिएको छ ।

कोभिड–१९ तथा रसिया र युक्रेन युद्धले विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दिका कारण नेपालको अर्थतन्त्रमा समेत असर पर्न गएको भन्दै संयोजक तुलाचनले यस परिस्थितिमा सम्पूर्ण सहकारी संघ संस्थाहरु तथा सदस्यहरुलाई संयमित भई सहकारी अभियानप्रति विस्वासका साथ थप क्रियाशील हुन आग्रह गरे ।

जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका महासचिव दामोदर पंगेनी, राष्ट्रिय सहकारी बैंकका लुम्बिनी प्रदेश प्रमुख नारायण बेलबासे, राष्ट्रिय सहकारी बैंकका बरिष्ठ सहायक सुशिल भट्टराईलगायतले बोल्दै जिल्लामै दर्ता भएर सञ्चालन भएका सहकारीहरुमा कुनै समस्या नभएको भन्दै बाहिरी जिल्लामा दर्ता भएर यहाँ शाखा कार्यालय सञ्चालन गरेका सहकारीहरुमा मात्रै समस्या देखिएको दाबी गरे ।

अन्यत्र दर्ता भई यहाँ शाखा कार्यालयको रुपमा सञ्चालित सहकारीहरुमा समस्या देखिए पनि त्यसको असर स्थानीयस्तरमा सञ्चालनमा रहेका सहकारीहरुलाई समेत पर्न गएको भन्दै उनीहरुले सहकारीहरुको नियमन गर्न छुट्टै सहकारी ऐन ल्याउनुपर्नेमा जोड दिए । राज्यको कमजोरीका कारण सहकारी पीडितहरु बढ्दै गएको भन्दै अबौँको कारोबार गर्ने क्षेत्रलाई नियमन गर्ने राज्यले ध्यान दिनुपर्ने बताए ।

जिल्ला दुग्ध सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेले विदेशबाट करोडौंको दुध आयात हुँदा यहाँका किसानले उत्पादन गरेको दुधले उचित मूल्य पाउन नसकेको गुनासो गरे । रुपन्देहीका दुग्ध उत्पादक किसानको ११ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनले बताए । समयमै दुधको भुक्तानी पाउन नसक्दा दुग्ध सहकारी समस्यामा परेको उनले बताए ।
हाल रुपन्देहीमा ९५० बढी सहकारी संस्थाहरु क्रियाशील रहेका छन् । जसमा २ लाख बढी शेयर सदस्य, २ अर्ब शेयर पुँजी, ४० अर्व बचत, ३५ अर्ब ऋण र २ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

हरेक वर्ष चैत २० गते नेपालमा सहकारी दिवस मनाइन्छ । नेपालमा पहिलो सहकारी संस्थाको स्थापना भएको दिनलाई लिएर राष्ट्रिय सहकारी दिवस मनाउने गरीन्छ । नेपालमा सहकारीको सुरुवात वि.सं २०१० मा सहकारी विभागको स्थापनापछि भएको हो । यसको व्यावसायिक र संगठित सुरुवात भने २०१३ चैत २० गते चितवनमा बखान सहकारी संस्था स्थापना भएसँगै भएको मानिन्छ । सोही सहकारीलाई नेपालको पहिलो सहकारी मानेर सो सहकारी स्थापना भएको दिनलाई नै सहकारी दिवसको रुपमा मनाउन थालिएको हो ।