मानव अधिकारकर्मीहरुको छलफल कार्यक्रम तानसेनमा सम्पन्न

मेचीकाली संवाददाता

९ चैत्र २०८०, शुक्रबार
705 shares


पाल्पा । नागरिक समाजको अवस्था विश्लेषण तथा मानव अधिकारकर्मीहरुको संरक्षण सम्बधी परामर्श कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

देशमा नागरिक समाजको अवस्था विश्लेषण तथा मानव अधिकारकर्मीहरुको संरक्षण सम्बन्धी कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा शान्तिका लागि साझा अभियान कोक्यापका केन्द्रिय अध्यक्ष पुष्ष भुषालले मानवअधिकार आयोगलाई राज्यले अधिकार सम्पन्न बनाउन नखोजेको बताए । उनले समाजमा रहेका हिंसालाई अन्त्य गर्न, सामाजिक न्यायलाई स्थापित गर्न राज्यले नागरिकको भूमिका खुम्च्याउन खोजेको समेत बताए ।

कार्यक्रममा मानव अधिकार अभियन्ता डा. राम बहादुर राउतले मानव अधिकारका कार्यक्रम सरकारका लागि दवाबपूर्ण रुपले गर्न नसकिएका कारण नेपाली यूवाहरु रोजगारको अधिकार बाट वञ्चित हुन परेका कारण विदेशिन बाध्य भएको बताए ।

नेपाल बार एसोसियसनका अध्यक्ष विनोद कार्कीले मानव अधिकारवादी संस्थाहरु राजनितिक दलबाट मुक्त हुन नसेको बताए । कोक्याप लुम्बिनी प्रदेश अध्यक्ष रिमा बिसीले राज्यलाई जवाफदेही गराउन मानव अधिकारबादीहरुको महत्वपूर्ण भूमीका रहने बताईन ।

कार्यक्रममा अधिवक्ता शालिकराम घिमिरे, अधिवक्ता नारायण ज्ञवाली, दलित अधिकारकर्मी ठाकुर लोहागुन, पत्रकार कृष्ण पोखरेल लगायतले समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु मानव अधिकार बाट वञ्चित भएको विषयमा जोड दिए । कार्यक्रममा कार्यकारी निर्देशक सरोज नेपालले मानव अधिकार सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।