तानसेनमा ढाका दिवश मनाईयो

मेचीकाली संवाददाता

१३ चैत्र २०८०, मंगलवार
118 shares


नेत्र गैरे

पाल्पा । पाल्पाली ढाका संघले दोश्रो ढाका दिवश मनाएको छ । पाल्पालाई २०७८ चैत १२ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढाकाको राजधानीको रुपमा घोषणा गरे पश्चात तानसेनमा ढाका दिवश मनाउन थालिएको कार्यक्रम संयोजक सागरमान महर्जनले बताए ।


सोही अवसरमा प्रतिनिधि सभाका सांसद ठाकुुर गैरेले पाल्पाली ढाका नेपाल तथा विदेशमा उच्च ब्राण्डको छवि बनाएको र ब्राण्डिङसँगै विविधिकरण गर्दै लैजानु आजको आवस्यकता रहेको बताए । उनले गुणस्तरीय काम र पाल्पालीहरुलाई स्वरोजगार बनाउन पाल्पाली ढाका सहयोगि हुने समेत बताए ।


लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले लुम्बिनी प्रदेश सरकारले पाल्पाली ढाका र करुवाको संरक्षणमा पनि योजना बनाएर काम गरेको बताउँदै उद्यमी प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । सांसद रानाले ढाका पाल्पामा उत्पादन गरेको भन्ने तर बिच बिचमा बाहिरबाट ल्याएर विक्री गर्ने गरेको भन्ने गुनासो आउने गरेकाले त्यसतर्फ सचेत हुुन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले ढाका उद्योग तथा उद्यमीको प्रोत्साहन गर्ने कार्यक्रम रहेको भन्दै यहाँका परम्परागत सीपको जगेर्ना तथा नयाँ प्रविधि हस्तान्तरणमा तानसेन नगर सरकार लागि परेको बताए । पाल्पाली ढाका उत्पादक सहकारी संस्थाका उपाध्यक्ष हरि रायमाझीले पाल्पाली ढाकाको नाममा गणेशमान महर्जनको नाम जोडिएको बताए ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका अधिकृत थमन सारु, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पाल्पामै बनेको ढाका बेचेर पाल्पाली ढाकाको इतिहास र गरिमालाई जोगाइराख्न स्थानीय उद्यमीलाइ अनुरोध गरे ।

कार्य्रकम ढाका संघका अध्यक्ष पूर्णमाया महर्जनको अध्यक्षता, कार्यक्रम संयोजक सागरमान महर्जनको स्वागत सचिव मनोज पौड्यालको सञ्चालनमा भएको थियो ।


पाल्पाली पहिचानको ढाकाको हरेक वर्ष चैत १२ गते पाल्पाली ढाका दिवस मनाउन थालिएको संघले जनाएको छ । पाल्पाली ढाका संघको आयोजना, तानसेन नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको सहयोगमा दिवश मनाईएको थियो ।