देवशिद्ध खानेपानीले बनायो सार्वजनिक शौचालय र धारा

मेचीकाली संवाददाता

१६ चैत्र २०८०, शुक्रबार
215 shares

बुटवल । देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ ले सार्वजनिक शौचालय र खानेपानीको धारा निर्माण गरेको छ । जिल्लामै पहिलो पटक बढी जनघनत्व भएको देवशिद्ध चोकमा शौचालय र खानेपानीको धारा निर्माण गरी सञ्चालनमा ल्याएको हो । धारा र शौचालयको शुक्रबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर–११ का कार्यवहाक अध्यक्ष युवराज रानाले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै का.वा अध्यक्ष रानाले सरसफाईको क्षेत्रमा खानेपानी आयोजनाहरुले अझै काम गर्न आवश्यक रहेको बताए । उनले त्यसको लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने स्पष्ट पारे । सञ्चालनमा आएको शौचालयको रेखदेख र सरसफाई नियमित आफूहरुले गर्दै जाने देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भरत पाठकले बताए ।

स्थानीय समाजसेवी तथा जग्गादाता दीपक पन्थीले दिएको जग्गामा शौचालय बनेको छ । शौचालयको लागत साढे चार लाख रुपैयाँ रहेको संस्थाका सचिव लोकराज शर्माले जानकारी दिए । खानेपानी संस्थाले विभिन्न सामाजिक कार्यक्रमा पनि निरन्तर काम गर्दै आएको सचिव शर्माको भनाइ छ । कार्यक्रममा देवशिद्ध युवा क्लबका अध्यक्ष मनोज वि.क. बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य हेमा थामी, जग्गादाता दिपक पन्थी लगायतले बोलेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष लालबहादुर थापाको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।