माधव नेपाल र महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

मेचीकाली संवाददाता

९ भाद्र २०७८, बुधबार
735 shares

काठमाडौं । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू हस्ताक्षर सनाखतका लागि आज निर्वाचन आयोगमा पुग्दैछन् ।

सनाखतका लागि आयोगले बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ । नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए ।

माधव नेपाल अध्यक्ष रहेको नेकपा समाजवादी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले भदौ २ गते दल दर्ताका लागि निवेदन दिएका थिए । सनाखतका लागि दुवै पक्षका नेता निर्वाचन आयोग पुग्ने क्रम शुरू भएको छ ।

दुवै दलले साविकको केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याउनु पर्नेछ । २० प्रतिशत सदस्य पुर्‍याएमा आयोगले आजै प्रमाणपत्र दिने तयारी गरेको छ । माधव नेपालको पार्टीले चुनाव चिह्न टुंगो लगाउन सकेको छैन भने महन्थले साइकल चिह्न रोजेका छन् ।