शुद्धोधनमा ‘कपडा बैंक’ सञ्चालनमा

मेचीकाली संवाददाता

२२ चैत्र २०८०, बिहीबार
1149 shares

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा कपडा बैंक (क्लोथ बैंक) सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बश्याल, उपाध्यक्ष शान्तादेवी ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर घर्ती लगायतले कपडा बैंकको उद्घाटन गरे । क्लोथ एण्ड फूड बैंक नेपालले शुद्धोधन गाउँपालिकाको सहकार्यमा कपडा बैंक स्थापना गरेको हो ।

सोही अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष बश्यालले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पुण्य कार्यमा जोडिन सबैलाई आग्रह गरे । कपडा बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न वर्गहरुलाई धेरै सहज हुने उनको विश्वास छ । समाज परिर्वतनका लागि युवाले सुरु गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु जोडिन पाउँदा खुसी व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष ज्ञवालीले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै घरमा भएका आफूलाई आवश्यक नपर्ने कपडा क्लोथ बैंकमा जम्मा गरिदिन सबैलाई आग्रह गरीन् । विपन्न तथा गरिव वर्गको हितका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उनले गरिबीका कारण शरीर ढाक्न समेत मुस्किल पर्ने समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कपडा बैंकलाई व्यवस्थित गराउन पालिकाले सघाउने प्रतिवद्धता जनाइन् ।

केही दिन अघि मात्र शुद्धोधन गाउँपालिका र क्लोथ एण्ड फूड बैंक नेपालबिच क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको थियो । सम्झौता पछि बिहीबार औपचारिक रुपमा क्लोथ बैक सञ्चालनमा आएको हो । क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न उनले आव्हान गरे । ‘मानव सेवाका लागि पुरानो कपडालाई पुनः प्रयोग’ भन्ने मुल नाराका साथ नितान्त सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिन समेत उनले आग्रह गरे ।

प्रयोगमा नआएका पुराना लत्ता कपडा संकलनका लागि पालिकाका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरुलाई पुनः प्रशोधन रि–साइकल गरि आवश्यकताका आधारमा मौसमअनुसार कपडा निःशुल्क वितरण गरिने अध्यक्ष जिसीले बताए । आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ देखि देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्ती, नमस्ते नेपालका संस्थापक अध्यक्ष नितेश खरेल, क्लोथ बैंकका बोर्ड मेम्बर हरि शर्मा न्यौपाने लगायतले बोल्दै आफ्नै देशमा केही नयाँ परीवर्तन गर्नका लागि युवाशक्ती एकजुट हुनुपर्नेमा जोड दिदै अभियानमा सबैले हातेमालो गर्न जरुरी रहेको बताए ।

क्लोथ बैंकका अध्यक्ष जिसीका अनुसार अहिलेसम्म १६० भन्दा बढी स्थानीय तह यो अभियानमा जोडिएका छन् । गएको फागुन ५ गते रुपन्देहीको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक शुभारम्भ भएको थियो ।