सैनामैना–१० मा ‘कपडा बैंक’ सञ्चालन

मेचीकाली संवाददाता

२३ चैत्र २०८०, शुक्रबार
81 shares

बुटवल । सैनामैना नगरपालिका वडा नम्बर १० मा कपडा बैंक (क्लोथ बैंक) सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी सैनामैना–१० का वडाध्यक्ष कृष्ण घिमिरे, ११ का अध्यक्ष रामु भुषाल, सालझण्डी सामुदायिक वन सञ्जालका अध्यक्ष चुडाबहादुर थापालगायतले कपडा बैंकको उद्घाटन गरे । क्लोथ एण्ड फूड बैंक नेपालले वडा कार्यालयसँगको सहकार्यमा कपडा बैंक स्थापना गरेको हो ।

सोही अवसरमा बोल्दै वडा नम्बर १० का वडाध्यक्ष घिमिरेले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पूण्य कार्यमा जोडिन सबैलाई आग्रह गरे । कपडा बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न वर्गहरुलाई धेरै सहज हुने उनले बताए । क्लोथ बैक सञ्चालनमा सैनामैना–१० देशभरिमै पहिलो वडा बनेकोमा खुसी व्यक्त गरे । सालझन्डी सामुदायिक वन सञ्जालका अध्यक्ष थापाले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै घरमा भएका आफूलाई आवश्यक नपर्ने कपडा क्लोथ बैंकमा जम्मा गरिदिन सबैलाई आग्रह गरे ।

सैनामैना नगरपालिका वडा नम्बर ११ का अध्यक्ष भुषालले वडा नम्बर १० सँगको सहकार्यमा पुण्यको काम सुरु भएकोमा खुशी व्यक्त गर्दै यसलाई दिर्घकालिन रुपमा अगाडी बढाउन सबैको सहकार्य आबश्यक रहने बताए ।
क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्न संघसंस्थालाई यो अभियानमा सहकार्य गर्न उनले आह्वान गरे । ‘मानव सेवाका लागि पुरानो कपडालाई पुनः प्रयोग’ भन्ने मूल नाराका साथ नितान्त सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिनसमेत उनले आग्रह गरे ।

प्रयोगमा नआएका पुराना लत्ता कपडा संकलनका लागि पालिकाका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरुलाई पुनः प्रशोधन रि–साइकल गरी आवश्यकताका आधारमा मौसमअनुसार कपडा निःशुल्क वितरण गरिने अध्यक्ष जिसीले बताए । आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ देखि देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।