लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

मेचीकाली संवाददाता

२५ चैत्र २०८०, आईतवार
53 shares

बुटवल । लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख तथा हाल इन्जिनीयर सरोजकुमार भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सरकारी कर्मचारीले घुसबापत पैसा नलिई जग्गा लिएको तथ्यसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एउटा रोचक मुद्दा दायर गरेको हो ।

इन्जिनीयर भट्टराईले ठेकेदारबाट पैसा नलिई जग्गा बेच्नेको खातामा रकम हाल्न लगाएको पाइएको छ । महोत्तरीको भंगाहा–५ स्थायी घर भएका भट्टराईले भक्तपुर गुण्डुमा– २ कित्ता जग्गा किनेका थिए । २ रोपनी ९ आना १ पैसाको एउटा र २ आना एक पैसाको अर्को गरी दुई कित्ता जग्गा किनिएको थियो ।

कोषमा ठेक्का पाएको बाबु निर्माण सेवा कम्पनीले जग्गा बेच्नेको नाममा पैसा हाल्दिएको थियो । ‘सरोजकी आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा पास भएको र बेच्नेको खातामा ठेकेदारले पैसा जम्मा गरेको पाइयो,’ अख्तियार स्रोतले भन्यो ।

कोषमा निर्माणसम्बन्धी कामको ठेक्का पाएका ठेकेदारले भट्टराईलाई जग्गा बेच्ने व्यक्तिको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी ८० लाख रुपैयाँ जम्मा गरिदिएको अभियोग पत्रमा उल्लेख छ ।

जग्गा खोजिदिने व्यक्तिको खातामा जम्मा गरेकोमध्ये ३८ लाख ७ हजार जग्गा बिक्रेताकै खातामा गएको देखिएको छ।

अख्तियारले निज सरोज भट्टराई र उनकी आमा जनकनन्दीनीविरुद्ध ८० लाख बिगो कायम गरेको छ भने कसूरजन्य कार्यबाट खरिद गरेको जग्गा समेत जफत गर्न माग दाबी लिएको छ।

विशेष अदालतका यज्ञराज रेग्मीले आइतबार मुद्दा दर्ता भएको जानकारी दिए ।