लुम्बिनीमा चार सदस्यीय मन्त्रीमण्डल

मेचीकाली संवाददाता

२६ चैत्र २०८०, सोमबार
129 shares

बुटवल। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रदेश प्रमुख शेरचनले महरालाई गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा नेपाली कांग्रेसका डिल्ली चौधरी नेतृत्वको सरकार ढलेसँगै लुम्बिनीको पाँचौं मुख्यमन्त्री बनेका हुन् ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री महराले आइतबार नै चार सदस्यीय मन्त्रिमण्डल पनि गठन गरेका छन् । आइतबार सपथसँगै मुख्यमन्त्री महराले तीन जना मन्त्री पनि नियुक्त गरेका हुन । मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्र दिपेन्द्र पुन मगर र जनता समाजवादी पार्टी (जसपा) बाट भण्डारीलाल अहिरलाई सपथ ग्रहण गराए ।

आचार्य अर्घाखाँचीका, पुन रोल्पा र अहिर बाँकेका हुन । उनीहरूको जिम्मेवारी तोक्न भने, बाँकी छ । मुख्यमन्त्रीले आइतबार नैं दाङको देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री महरालाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन छ । उनीहरुलाई पनि मन्त्री बनाउने तयारी छ । १० मन्त्रालय रहेको लुम्बिनीमा बढाउने तयारी भइरहेको छ । ४८ सांसदको समर्थन सहित महरा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छन । सरकारलाई एमाले, माओवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन रहेको छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी (सभामुख सहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४÷४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३÷३, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १÷१ जना सांसद छन् । लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ ।

शिक्षक हुँदै राजनीतिमा लागेका मुख्यमन्त्री महरा
नवनियुक्त मुख्यमन्त्री महरा विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक थिए । उनि विसं २०३५ र २०३६ सालको विद्यार्थी आन्दोलनमा सङ्लग्न भई राजनीतिमा प्रवेश गरेका हुन् । उनले विसं २०४४ देखि २०५० सालसम्म मावि शिक्षकका रुपमा पनि काम गरे ।

मुख्यमन्त्री महरा विसं २०७९ मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं १ (१) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका हुन् । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको साविक गजुल गाविस वडा नं २, हाल सुनिलस्मृति–गाउँपालिका–५ गजुल काट्नेमा विसं २०२० कात्तिक १ गते जन्मीएका महराले स्थानीय जनज्योति मावि गजुलबाट एसएलसी उत्तीर्ण गरेका हुन् ।

यस्तै उनले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट प्रमाणपत्र तह तथा राजनीतिशात्र र अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री महराका श्रीमती र चार छोरा छन् । विसं २०४२ मा विद्यार्थी सङ्गठनको दाङको सचिव हुँदै विसं २०५१ मा नेकपा (माओवादी)को रोल्पा जिल्ला सचिवका रुपमा पार्टीको जिम्मेवारी पाएका थिए । यसपछि पनि पार्टीको विभिन्न जिल्लामा नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गरेका महरा विसं २०६४ मा नेकपा (माओवादी) को तर्फबाट संविधानसभा सदस्य भएका थिए ।

विसं २०६२ देखि २०६५ र २०७२ देखि २०७८ सम्म दुई पटक पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा काम गरेका महरा विसं २०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेरसमेत काम गरेका थिए ।
नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य रहेका महरा गतवर्ष एमाले संसदीय दलका नेता लिला गिरी नेतृत्वको प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।